कैलाली-२ मा प्रमुख दलबाट नयाँ प्रतिस्पर्धी
धनगढीः कैलाली क्षेत्र नम्बर २ मा प्रमुख दलबाट उम्मेदवार बनेकाहरु प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नयाँ अनुहार हुन्।
काँग्रेसबाट विजयबहादुर स्वाँर, एमालेबाट सुर्यबहादुर थापा, नेकपाबाट नन्दबहादुर साउँद चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै रास्वपाले युवा अभियान्ता केपी खनाल र रेशमको नागरिक उन्मुक्ति पार्टी नेपालले पतिराम चौधरीलाई उम्मेदवार बनाएको छ।
यो क्षेत्रमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ।
गत चुनावमा क्षेत्र नम्बर १, २ र ३ मा संघ र प्रदेश दुवैतर्फ नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको थियो। नागरिक उन्मुक्तिका अरुनकुमार चौधरी २१ हजार ८७१ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका थिए।
काँग्रेसको समर्थन पाएका तत्कालीन माओवादी केन्द्रका भगतबहादुर बडुवालले १५ हजार ११६ मत पाएका थिए।
यो क्षेत्रमा समानुपातिकतर्फ पनि नागरिक उन्मुक्तिले सबैभन्दा बढी १९ हजार ५९७ मत पाएको थियो। त्यस्तै एमालेले १२ हजार ८१८, काँग्रेसले १० हजार १७९ र माओवादीले सात हजार १६९ मत पाएको थियो।