सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी बस दुर्घटनामा ज्यान गुमाएका १३ मृतकको अन्त्येष्टि 

२०८२ माघ २४, ०६:०७ जयन्त सिंह भाट

धनगढीः बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको अन्त्येष्टि गरिएको छ। शनिबार सबै मृतकको अन्त्येष्टि सम्पन्न गरिएको हो।

मृतकमध्ये बझाङको बित्थडचिर गाउँपालिका–७ का आठ जनाको कालङ्गा आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ भने अन्य मृतकहरूको सम्बन्धित स्थानमा अन्त्येष्टि गरिएको छ।

कालङ्गा आर्यघाटमा अन्त्येष्टि गरिएकामा लगुणासाका सहोदर दाजुभाइ नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी र वसन्तराज जोशी, बाबु–छोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दिपकराज जोशी रहेका छन्।

त्यसैगरी बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रतालाको चैनपुरमा अन्त्येष्टि गरिएको छ। दुर्घटनामा ज्यान गुमाएका बुवा–छोरा मोहनदेव भट्ट र केशवराज भट्टको केदारस्यूँ गाउँपालिका अन्तर्गत बागथला आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

यस्तै, दुर्घटनामा निधन भएका बेहुली पक्षका पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थी तथा बेहुलीका १४ वर्षीय भाइ सुशील जोशीको पुर्चौडीस्थित राताशीला आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बिहीबार अपराह्न बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए।  घाईते मध्ये हालसम्म १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकीको डडेल्धुरा अस्पताल र धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ। 
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस