धनगढीका ग्रासरूट क्रिकेट खेलाडी भारत भ्रमणमा, ६ वटा मैत्रीपूर्ण खेल खेल्ने
धनगढी: धनगढी उपमहानगरपालिकाद्वारा धनगढी–१८ स्थित श्री चन्दोदय माध्यमिक विद्यालय र धनगढी–१२ स्थित श्री सिद्धनाथ माध्यमिक विद्यालयमा विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको ग्रासरूट क्रिकेट कार्यक्रमबाट छनोट भएका चार जना खेलाडी भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
दिनेश कठायत, अम्बु भण्डारी, हेमन्त बोहरा र राहुल ओडसहित एक जना प्रशिक्षक गरी पाँच सदस्यीय टोली धनगढी क्रिकेट एकेडेमी (डीसीए) को अन्डर–१६ टोलीका रूपमा छिमेकी राष्ट्र भारततर्फ हिजो प्रस्थान गरेको हो। टोलीलाई धनगढी उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले औपचारिक रूपमा बिदाई गर्दै शुभकामना व्यक्त गरेको छ।
मुम्बई टुरका क्रममा डीसीए अन्डर–१६ टोलीले भारतका विभिन्न ६ वटा स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने तालिका रहेको छ। साथै टोलीले मुम्बईको ऐतिहासिक वाङ्खडे स्टेडियममा आयोजना हुने नेपालसहित विभिन्न देशबीचका टि–२० विश्वकप क्रिकेट खेलहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर पनि प्राप्त गर्नेछ।
यस भ्रमणले ग्रासरूट क्रिकेट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेल प्रणाली, प्रविधि र प्रतिस्पर्धाबारे प्रत्यक्ष सिकाइको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। विश्वकप टि–२० अवलोकनबाट प्राप्त अनुभव र ज्ञानलाई फर्किएपछि अन्य खेलाडीहरूसँग पनि साझा गरिने विश्वास लिइएको छ।
धनगढी उपमहानगरपालिकाले ग्रासरूट क्रिकेटमार्फत भविष्यका प्रतिभाशाली खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको नगर प्रमुख गोपाल हमालले जानकारी दिएका छन्। ।