सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

२०८२ माघ २४, १२:३३ खबर संवाददाता

काठमाडौँ: सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै बन्द गर्ने निर्णय गरेको छ।

यो निर्णय शुक्रबार मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल ९एसएसबी० बीचको १६औँ डिआईजीस्तरीय समन्वय बैठकमा गरिएको हो।

बैठकमा सीमा सुरक्षाको अवस्था, सूचना आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रणलगायत विषयमा विस्तृत छलफल भएको थियो। साथै सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच सहमति भएको छ।

त्यसैगरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी जोखिम मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासीको गतिविधिमा निगरानी बढाउने, विभिन्न तहका चेकप्वाइन्ट र ब्यारियर स्थापना गर्ने, आपराधिक तत्त्वको घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने तथा सीमा क्षेत्रमा मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको थियो।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले नेपाल–भारत सीमा केवल दुई देशबीचको रेखा मात्र नभई मित्रताको प्रतीक भएको उल्लेख गरे। भारतीय एसएसबीका डिआईजी सरोज कुमार ठाकुरले आगामी दिनमा सीमा क्षेत्रलाई अझ सुरक्षित, मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा सशस्त्र प्रहरी बल नेपालका तर्फबाट महानिरीक्षकहरू अन्जनी कुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय एसएसबीका तर्फबाट डिआईजी सरोज कुमार ठाकुर, मन्जीत सिंह, सुरेश सुब्रमणियम, राजेस टिक्कु र मनिस कुमारको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस