बैतडी बस दुर्घटना: अन्त्येष्टिका लागि एकै आँगनबाट सात लास उठाइयो
धनगढी: बैतडीको पुर्चौडी नगरपालिका-७ बडूगाउँको मोडमा बिहीबार अपराह्न भएको जन्तीको बस दुर्घटनामा ज्यान गुमाएका केटा पक्षका सात जनाको अन्त्येष्टिको लागि एकै आँगनबाट पार्थिव शरीर उठाइएको छ।
घटनामा १३ जनाको ज्यान गएकोमा बझाङको बित्थडचिर-७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी,केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशीकाे आज आज एकै चिहानमा अन्त्येष्टिका लागि लास उठाइएकाे छ।
नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजु-भाइ हुन्। दाजु नरेन्द्र बित्थडचिर-७ का वडा सचीव हुन् भने भाइ विष्णु स्थानीय महादेव माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक हुन्। यस्तै घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्र र विष्णुदत्तका भतिजो हुन्।
घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन्। घटनामा ज्यान गुमाउने ४० वर्षीय केशवराज जोशी र अशोकराज जोशी बाबु-छोरा हुन्।
केशवराजका एकमात्र छोरा अशोकराजको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी पनि सहोदर दाजुभाइ हुन्। उनीहरू दुबैको डडेल्धुरा ल्याउने क्रममा ज्यान गएको थियो। उक्त घटनामा निधन भएका सातै जनाको आज एकै चिहानमा अन्त्येष्टि गरिँदै छ। यो हृदयविदारक घटनाले सारा बझाङ शोकमा डुबेको छ।