नगरपालिकाका उपप्रमुख र हाकिमसहित १२ जना विरुद्ध अख्तियारमा उजुरी!
धनगढी:बैतडीको पाटन नगरपालिकाका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय कञ्चनपुरले बैतडीको पाटन नगरपालिकासँग सम्बन्धित अनियमितता प्रकरणमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
अख्तियारले पाटन नगरपालिका–बैतडीमा दर्ता भएको उजुरीका आधारमा नगरपालिकाका इन्जिनियर समेतको संलग्नतामा विभिन्न विद्यालय भवन निर्माणमा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। सोही सिलसिलामा आयोगले सम्बन्धित व्यक्तिहरूलाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको हो।
पत्रअनुसार उपस्थित हुन बोलाइएकामध्ये पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, लेखापाल भवानी प्रसाद भट्ट, इन्जिनियर मोहन देव भट्ट, सब–इन्जिनियर दिनेश कुमार ऐर, उपप्रमुख कमलसिंह बोहरा, वडा नम्बर ३ का अध्यक्ष करुणाकर भट्ट, सिगास माध्यमिक विद्यालयका प्रधानाध्यापक धनीदत्त पन्त, व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाट तथा वडा सदस्यहरू दिपेन्द्रसिंह खत्री, भिमदत्त भट्ट, आरती विष्ट र भागरथी विक रहेका छन्।
पाटन-३ का अध्यक्ष करुणाकर भट्टले आफूसहित १२ जनालाई अख्तियारले बोलाएको खबर सामाजिक संजालबाट थाहा पाएको बताए। उनले अख्तियारले तोकेकै समयभित्र बयानका लागि अख्तियारमा उपस्थित हुने जानकारी दिए।
उनले विद्यालय भवन निर्माणको विषयमा अख्तियारमा उजुरी परेको सुन्नमा आएको तर भवन निर्माणमा कुनै त्रुटि नभएको दाबी गरेका छन्।
अख्तियारले भने १२ जनालाई नै नागरिकता प्रमाणपत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइज फोटो सहित ७ दिनभित्र आयोगको कार्यालयमा उपस्थित भई बयान दिन निर्देशन दिएको छ। अख्तियारले माघ १८ गते पत्र काटेको हो।
अख्तियारले तोकिएको समयमा उपस्थित नहुनेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत पत्रमा उल्लेख गरेको छ।
विद्यालय भवन निर्माणमा सार्वजनिक रकमको दुरुपयोग भएको आशंकामा अनुसन्धान भइरहेको र आवश्यक परे थप कागजात तथा प्रमाण माग गरिने अख्तियार स्रोतले जनाएको छ।