मतदाता भन्छन्: उम्मेदवार हेरेर मत हाल्छौं
दशरथचन्द (बैतडी): सिगास गाउँपालिका–९ का रवीन्द्र र हिमा बोहरा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन्। पहिलो पटक मताधिकार प्रयोग गर्न पाउँदा उनीहरू दुवै उत्साहित छन् भने उम्मेदवार चयनप्रति पनि सजग देखिन्छन्।
रवीन्द्रका अनुसार पहिलो पटक मतदान गर्न पाउँदा उत्साहसँगै जिम्मेवारीबोध पनि बढेको छ। उनले युवा र देशको वर्तमान आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्न सक्ने उम्मेदवारलाई मत दिने तयारी गरेका छन्।
त्यस्तै, पहिलो पटक मतदान गर्न लागेकी हिमाले सक्षम र दूरदर्शी नेतृत्वलाई आफ्नो मत दिने बताइन्। राम्रो नेतृत्व चयनमार्फत देशको विकास सम्भव हुने उनको धारणा छ। त्यसका लागि उम्मेदवारका एजेन्डा र प्रतिबद्धतालाई मत दिने आधार बनाउने उनको भनाइ छ।
बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये केही नयाँ उम्मेदवार छन् भने केही पुनः प्रतिस्पर्धामा उत्रिएका हुन्।
पुर्चौंडी नगरपालिका–४ का पुष्कर भट्टले पनि पहिलो पटक मताधिकार प्रयोग गर्न लागेका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर योग्य, नैतिकवान् र स्पष्ट योजना तथा नीति भएका उम्मेदवारलाई मात्र आफ्नो अमूल्य मत दिने धारणा व्यक्त गरे।
जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार जिल्लामा १२९ मतदानस्थल र २१४ मतदान केन्द्र रहेका छन्। जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता छन्, जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र अन्य दुई जना रहेका छन्।
सुरक्षा दृष्टिले जिल्लाका ३३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।