सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एमालेको चुनावी तयारी तीव्र, पाँचै क्षेत्रमा अनुभवी नेताको कमाण्ड

२०८२ माघ १८, ०९:३१ खबर संवाददाता

धनगढी: आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले कैलालीमा चुनावी अभियानलाई तीव्र बनाएको छ। केन्द्रीय नेतृत्वको प्रत्यक्ष निगरानीमा जिल्ला, पालिका, वडा हुँदै टोलसम्म संगठनलाई सक्रिय बनाउँदै घरदैलो, जनसंवाद तथा प्रचारप्रसारलाई व्यापक बनाइएको छ।

यस अभियानअन्तर्गत कैलालीका पाँचै निर्वाचन क्षेत्रमा अनुभवी र प्रभावशाली नेताहरूलाई चुनावी कमाण्डरको जिम्मेवारी दिइएको छ। कैलाली–१ मा तपेन्द्र रावल, २ मा कमला ओली, ३ मा खगेन्द्र ठकुल्ला, ४ मा सन्तोष कुमारी थापा र ५ मा नारदमुनी रानाले नेतृत्व सम्हालेका छन्।

कैलाली–१ का रावल प्रदेश सचिवालय सदस्य हुन् भने कैलाली–२ की ओली केन्द्रीय सदस्य हुन्। यस्तै, कैलाली–३ का ठकुल्ला जिल्ला सचिवालय सदस्य, कैलाली–४ की थापा केन्द्रीय सदस्य र कैलाली–५ का राना पूर्व पोलिटब्युरो सदस्य रहेका छन्।

स्थानीय अनुभव, बलियो संगठन, नयाँ तथा युवा उम्मेदवार र मतदाता मनोविज्ञानमा आधारित रणनीतिका कारण यस पटक पाँचै निर्वाचन क्षेत्रमा जित निकाल्ने एमालेको दाबी छ।

अघिल्ला निर्वाचनका हारलाई सफलतामा रूपान्तरण गर्दै कैलालीमा नयाँ इतिहास रच्ने लक्ष्यसहित एमाले चुनावी मैदानमा होमिएको पार्टीले जनाएको छ।

कमेन्ट लोड गर्नुस