सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण सुधारसम्बन्धी विद्यालयका प्रधानाध्यापकहरुसंग अन्तरक्रिया

२०८२ माघ १०, ०९:०७ जयन्त सिंह भाट

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा धनगढी नगर क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकहरूसँग अभ्यास शिक्षणमा शैक्षिक सुधार तथा गुण संयन्त्रसम्बन्धी अन्तरक्रिया गरिएको छ।

अभ्यास शिक्षण समिति कैलाली बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसमा शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरूको अभ्यास शिक्षणलाई प्रभावकारी बनाउने, सिकाइको गुणस्तर वृद्धि गर्ने तथा मूल्याङ्कन प्रणालीलाई व्यवहारमुखी बनाउने विषयमा छलफल गरिएको छ। 

क्याम्पसका अभ्यास शिक्षण समिति संयोजक उप–प्राध्यापक डा. मान बहादुर जोराले विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सक्ने वातावरण निर्माण गर्न प्रधानाध्यापकहरुसंग उक्त अन्तरक्रिया गरिएको बताए।

“विद्यार्थीले कक्षकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने वर्तमान परिपेक्ष्यमा सिकाइलाई गुणस्तरिय तरिकाले मूल्याङ्कन गर्न र उनीहरुको सिपलाई प्रबलीकरण गर्दै सिकाईलाई प्रभावकारी बनाउन अन्तरत्रिया कार्यक्रम आयोजना गरेका हौँ” उनले भने। 

कार्यक्रममा धनगढी उपमहानगरपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो। सहभागी प्रधानाध्यापकहरूले नयाँ शिक्षक उत्पादनका लागि विविध चुनौतीहरु बढिरहेको अवस्थामा विद्यार्थीहरुको व्यवहारिक सुधारका लागि उनिहरुलाई मर्यादित, अनुशासित र संवेदनशील बनाउन आवश्यक रहेको बताएका छन्। उनिहरुले विद्यार्थीको कक्षा व्यवस्थापन, व्यवहारिक ज्ञान, पेशागत दक्षता,शिक्षण विधि तथा अभ्यास शिक्षणका क्रममा देखिएका समस्या र सुधारका उपायबारे सुझाव प्रस्तुत गरेका थिए। 

प्रधानाध्यापकहरुले दिएका सुझाव सल्लाहका आधारमा क्याम्पसमा आगामी दिनमा शिक्षण सिकाइलाई सुधार गर्दै लैजाने संयोजक जोराले बताए। अन्तरक्रिया कार्यक्रमले क्याम्पस र विद्यालयबीचको सहकार्यलाई मजबुत बनाउनुका साथै शिक्षाशास्त्र संकायका विद्यार्थीहरूको व्यावसायिक सीप र दक्षता अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस