निष्पक्ष र भयमुक्त चुनावका लागि सामूहिक प्रतिबद्धता
बाजुराः प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त रूपमा गराउने उद्देश्यसहित बाजुराका राजनीतिक दल तथा उम्मेदवारहरूले लिखित रूपमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। बाजुरामा २०४८ सालदेखिका हरेक राष्ट्रिय र स्थानीय चुनावमा झडप हुँदै आएका छन्। यस पटकको चुनावमा त्यस्तो नहुने प्रतिबद्धता उम्मेदवारहरूको छ। निर्वाचन प्रक्रियामा नागरिकको स्वतन्त्र मताधिकारमाथि कुनै पनि प्रकारको हनन, दबाब, प्रलोभन वा डरत्रास सिर्जना नगर्ने स्पष्ट प्रतिबद्धता उनीहरूले जनाएका हुन्।
जिल्ला सदरमुकाम मार्तडीमा आयोजित संयुक्त पत्रकार सम्मेलन तथा प्रतिबद्धता कार्यक्रममा सहभागी उम्मेदवारले लोकतन्त्रको मूल आधार नै स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको उल्लेख गर्दै मतदातालाई आफ्नो मत प्रयोग गर्ने पूर्ण अधिकार सुरक्षित गरिने बताए।
विगतमा मतदातामाथि दबाब, प्रभाव र एमाले तथा काँग्रेसका कार्यकर्ताको मृत्यु भएका घटनाबाट पाठ सिक्दै यस पटक सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरीले बताए। 'हामी प्रतिस्पर्धी हौँ, शत्रु होइनौँ,” उनले भने, 'राजनीतिक विचार फरक हुन सक्छन् तर मतदाताको अधिकारमाथि हस्तक्षेप गर्नु लोकतन्त्रविरुद्धको कार्य होस जुन हामी स्विकार्दैनौँ ।'
उम्मेदवारहरूले निर्वाचन प्रचारका क्रममा गालीगलौज, चरित्र हत्या, झुटा आरोप, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिसमेत नगर्ने प्रतिबद्धता जनाए। 'यस्तो सामूहिक प्रतिबद्धता निर्वाचनलाई विश्वसनीय र उदाहरणीय बनाउने सकारात्मक सन्देश हो,' एमालेका उम्मेदवार लालबहादुर थापाले बताए। नेपाली कम्युनिस्ट पार्टी बाजुराका उम्मेदवार प्रकाशबहादुर शाहले सम्पूर्ण मतदातालाई कसैको दबाब वा प्रभावमा नपरी आफ्नो विवेक र चाहना अनुसार निडर भई मतदान गर्न आग्रह गरे।