राससकर्मीका लागि तनाव व्यवस्थापन अभ्यास
काठमाडौँः दैनिक समाचार लेखन र सम्पादनमा व्यस्त रहनुपर्ने राष्ट्रिय समाचार समितिका सम्पादक, समाचारदाता र कर्मचारी आज करिब एक घण्टा तनाव व्यवस्थापनको अभ्यासमा केन्द्रित भएका छन्।
तनावका कारण र व्यवस्थापनका विषयमा आफ्ना अनुभव प्रस्तुत गर्न योग तथा पुनःस्थापना विशेषज्ञ डा. विनोद घिमिरे रासस केन्द्रीय कार्यालय भद्रकाली परिसर आएका थिए। उनले भने, 'हरेक व्यक्तिमा केही न केही तनाव र समस्या हुन सक्छन्, तर त्यसलाई तनावभन्दा पनि परिस्थितिका रूपमा सहजतापूर्वक लिएर स्वीकार गर्नु उत्तम विकल्प हो।'
घिमिरेले तनाव तथा समस्या समाधानमा अपनाउनुपर्ने सूत्रबद्ध विधिहरूका बारेका अभ्यास गराएका थिए। त्यसक्रममा राससका महाप्रबन्धक सन्दिप राईले डा घिमिरेको प्रस्तुतिबाट राससकर्मीलाई तनाव व्यवस्थापनबारे थप ज्ञान मिलेको विश्वास व्यक्त गरे। रासस सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीले तनाव व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई जीवन व्यवहारमा उतार्न सकेको खण्डमा तनाव कम हुने बताए।
भारतको बैङ्लोरस्थित स्वामी विवेकानन्द योग अनुसन्धान संस्थानबाट सन् २०१६ मा ‘योग तथा पुनःस्थापना’मा एमडी गर्नुभएका डा. घिमिरे विशेषगरी तनाव चिकित्सासम्बन्धी प्रशिक्षण र अनुसनधानमा सक्रिय रहँदै आएका छन्।