सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकापुर नगरपालिकाका प्रमुखले दिए राजिनामा

२०८२ माघ ५, ०५:२२ खबर संवाददाता

धनगढीः टीकापुर नगरपालिकाका प्रमुख (मेयर) रामलाल डङ्गौरा थारूले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र १ बाट प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बन्न थारूले राजीनामा दिएका हुन्।

‘२०८४ सालमा हुने चुनावमा प्रदेश सभा सदस्य उठने विचार गरेको थिएँ तर प्रतिनिधि सभाको निर्वाचन पहिले आएर पार्टीले टिकट दिएपछि नयाँ जिम्मेवारीमा जानु पर्ने भयो’ उनले भने । 

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित डङ्गौरा सो दल अहिले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्दै छन्। 
संविधानको धारा २१६ को उपधारा ८ अनुसार प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा दिएमा पद रिक्त भएको मानिने व्यवस्था छ । टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटालामा संलग्न भनी २०८२ माघ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि दुई वर्ष अघिदेखि उपप्रमुख पद पनि तामेलीमा छ । उपप्रमुखको मुद्दाको अन्तिम किनारा नलागेकाले उपप्रमुखले गर्नुपर्ने भनी कानुनले तोकेका कामहरू पनि अलपत्र छन् । 

दुई विधेयक पारित
टीकापुर नगरपालिकाको पुस २८ गते सुरु भएको १८ औँ नगर सभाको दोस्रो बैठकमा पेस भएको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८२  र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८२ सुझावसहित पारित भएको छ ।

नगरपालिकाको १७ औं नगर सभामा ९३ करोड ६७ लाख ९७ हजार १२७ बराबरको बजेट विनियोजन भएकोमा १८ औंँ नगर सभाले चालु वर्षको रकमान्तर, कार्यक्रम संशोधन र गत वर्षको अघिल्लो वर्षको बचत र विभाज्य कोषको बाँडफाँट गरी नौ करोड ७३ लाख ५७ हजार ५८१ बराबरको बजेट विनियोजन तथा रकमान्तर गरी जम्मा १ अर्ब ३ करोड ४१ लाख ५४ हजार ७०८ रुपियाँ पु¥याएको छ । 

सभाको पहिलो बैठकमा सदस्य मोहन विकले चालु आर्थिक वर्षको हालसम्मको आय तथा खर्च विवरण प्रस्तुत गरेका छन्। विवरण अनुसार हालसम्म विभिन्न स्रोतबाट ४० करोड ३२ लाख ८१ हजार रुपियाँ आय भएको र खर्चतर्फ चालु आवमा २० करोड १२ लाख २५ हजार, पूँजीगततर्फ एक करोड ३१ लाख ३६ हजार  खर्च भएको जानकारी दिए। वडाहरू र पशुसेवा शाखाको पुँजीगत खर्च प्रगति शून्य प्रतिशत रहेको छ ।
 

कमेन्ट लोड गर्नुस