सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेंगुबाट बंगलादेशमा ४० जनाको मृत्यु, हजारौं अस्पताल भर्ना

। फोटो स्रोत ।
२०७६ साउन २९, ११:२९ खबर संवाददाता

बंगलादेशमा डेंगुको प्रकोप देखिएको छ। सन् २०१९ को जनवरीदेखि हालसम्म ४० ले ज्यान गुमाएका छन् भने हजारौं यसबाट संक्रिमत बनेका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरले डेंगुका कारण ४० ले ज्यान गुमाइसकेको र हजारौं त्यसबाट संक्रिमत भएको बताएका छन्।

यद्यपि, बंगलादेशी सञ्चारमाध्यमहरुले सरकारको तथ्यांकभन्दा धेरै बढी मानिसले ज्यान गुमाएको दाबी गरेका छन्। गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकले डेंगुको संक्रमणबाट ज्यान गुमाएको उनीहरूको भनाइ छ।

गत जनवरीदेखि नै सुरु भएको डेंगुको संक्रमण निर्मूल हुनुको सट्टा बढ्दै गएपछि सरोकारवालाहरू चिन्तित देखिएका छन्। बंगलादेशमा हप्ता दिन लामो इद–अल–आधा मनाउन लाखौं नागरिकहरू शहरबाट गाउँ भित्रिएका छन्। यसरी गाउँ पसेकाहरुले रोग सार्ने र यसको संक्रमण थप भयावह बन्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बिदा रद्ध गरी संकटलाई साम्य पार्न सबै स्वास्थ्यकर्मीहरुलाई अपिल गरेका छन्।

पछिल्लो समय डेंगु संक्रमित पनि उत्तिकै बढिरहेका छन्। गत जनवरीदेखि ४४ हजार बिरामी डेंगुको आशंकामा अस्पताल भर्ना भइसकेका छन्। सोमबार मात्रै विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताएका छन्। डेंगुको संक्रमणमा परेका हजारौं बिरामी उपचारका लागि अस्पताल पुगेपछि सेवाप्रवाहमा समेत कठिनाइ भएको छ। अस्पतालका शैय्या संक्रमितले भरिएपछि भुइँमा बसेर बिरामीले  उपचार गरिरहेका छन्।

लामखुट्टेको टोकाइबाट हुने भाइरल संक्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेगु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी वर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखापर्ने गरेको छ। तर यो वर्ष एशियाली केही मुलुकहरूमा डेंगु जटिल समस्याका रूपमा देखा परेको छ। नेपालकै धरानलगायतका क्षेत्रमा पछिल्ला केही महिनादेखि डेंगुको प्रकोप बढे पनि निणन्त्रणमा आउन सकेको छैन। बरु अन्य क्षेत्रमा पनि फैलँदै गइरहेको छ।
 

कमेन्ट लोड गर्नुस