सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री चन्दका छोरा चुनाव लड्ने, धनगढीमा बैतडी समाजको स्वागत

२०८२ पुष २८, ०७:०० खबर संवाददाता

धनगढीः बैतडी जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्द चुनाव लड्ने भएका छन्। राष्ट्रिय प्रजातान्त्र पार्टीबाट उनले उम्मेदवारी घोषणा गर्दै औपचारिक रूपमा चुनावी अभियान अघि बढाएका हुन्।

नेपाली चलचित्र क्षेत्रका अभिनेतासमेत रहेका भुपेन चन्दले जिल्लामा सक्रिय रूपमा भेटघाट र जनसम्पर्क बढाइरहेका छन्। यसैक्रममा सोमबार बैतडी समाज कैलाली, धनगढीको सचिवालय प्राङ्गणमा आयोजित कार्यक्रममा समाजसेवी तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा उनको स्वागत गरिएको छ। कार्यक्रममा समाजले आगामी निर्वाचनका लागि युवा नेता चन्दलाई शुभकामना पनि व्यक्त गरेको थियो।

कार्यक्रमका वक्ताहरूले प्राकृतिक सुन्दरता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न बैतडी जिल्ला वीर सहिद दशरथ चन्दको जन्मभूमि तथा स्वच्छ छविका पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको जिल्ला भएको स्मरण गर्दै यसको गौरवपूर्ण इतिहासको चर्चा गरेका थिए।

यद्यपि दुई वटा स्थानीय तहसहित देशकै १० गरिब जिल्ला तथा गरिब स्थानीय तहको सूचीमा बैतडी पर्नु दुःखद विषय भएको उनीहरूको भनाइ थियो। यस्तो अवस्थाबाट जिल्लालाई मुक्त गर्न सक्षम, इमानदार र दूरदर्शी नेतृत्व आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा बोल्दै भुपेन चन्दले बैतडीको समग्र विकास र समृद्धिका लागि आफ्नो जिम्मेवारीबोध अझ बढेको बताउँदै जनताको भरोसामा खरो उत्रिने प्रतिबद्धता व्यक्त गरे। जिल्लालाई गरिबीको सूचीबाट मुक्त गर्दै अवसर र सम्भावनाको केन्द्र बनाउने दिशामा आफू निरन्तर लाग्ने उनको भनाइ थियो।

कमेन्ट लोड गर्नुस