नयाँ टावरपछि बझाङका दुर्गम गाउँमा फोरजी इन्टरनेट सुविधा
बझाङ: खप्तड छान्ना गाउँपालिका–३ दारुगाउँमा नेपाल टेलिकमको नयाँ टावर र फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयको संचार समस्या हटेको छ। यसअघि दिनको केही घण्टामात्र फोन लाग्ने र बाँकी समय गाउँ सम्पर्कविहीन हुने गरेको थियो।
दारुगाउँमा होमस्टे सञ्चालन गर्दै आएका धनराज खड्काले नेटवर्क नहुँदा पाहुनासँग सम्पर्क गर्न नसक्दा समस्या भोग्नुपरेको बताए। अहिले भने २४सै घण्टा फोन र इन्टरनेट चल्न थालेपछि स्थानीयलाई ठूलो राहत मिलेको छ।
दारुगाउँजस्तै बझाङका अन्य दुर्गम बस्तीहरूमा पनि टेलिकमले सेवा विस्तार गरेपछि टेलिफोन र इन्टरनेट सहज बनेको छ। तिहारपछि तल्कोट–४ को लोकण्ड, वडा १ को सुनिकोट, छबिस पाथीभरा–४, जयपृथ्वी नगरपालिका–१ को कैलास पिमी, वडा ५ को कोटेली र सुर्मा गाउँपालिकामा नयाँ टावर सञ्चालनमा आएका छन्।
पहिला नेटवर्क टिप्न घण्टौँ हिँड्नुपर्ने अवस्था रहेको सुर्मा गाउँपालिकाका भीम बोहराले टावर बनेपछि घरमै इन्टरनेट चल्न थालेको बताए।
नेपाल टेलिकमका अनुसार कमजोर नेटवर्क भएका क्षेत्रमा नयाँ टावर निर्माण र फोरजी क्षमता विस्तार भइरहेको छ। थलारा, छबिसपाथीभरा र बित्थडचिरका टावरमा उच्च क्षमताको उपकरण जडान गरिएपछि इन्टरनेटको गति बढेको छ।
अबको एक साताभित्र दुर्गाथली–५ र बित्थडचिरको सुनकुडा बजारमा निर्माणाधीन टावर सञ्चालनमा आएपछि बझाङका थप गाउँ संचार पहुँचमा आउने नेपाल टेलिकमले जनाएको छ।