सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी

२०८२ पुष १८, १२:०१ खबर संवाददाता

काठमाडौँः २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ। ओलीलाई पत्र लेख्ने विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन्। आयोगले बयान लिन ओलीसँग मात्र बाँकी छ। 

तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान सकेको आयोगले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको हो। अब तत्कालीन प्रधानमन्त्रीको पालो आएकाले कसरी अघि बढ्ने भन्नेमा प्रधानमन्त्रीसँग छलफल गरिएको आयोगका पदाधिकारीले बताए।

‘ओलीले आयोगलाई नै अस्वीकार गर्ने र बयान दिन नजाने अभिव्यक्ति पटक–पटक दिँदै आएकाले उनी आयोगमा उपस्थित नै नभए वा बयान दिन इन्कार गरे के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीसँग छलफल भयो,’ उनले भने। ती पदाधिकारीका अनुसार प्रधानमन्त्री कार्कीले संविधान र कानुनअनुसार गठन भएको आयोगमा कसैले बयान दिन्नँ भन्न नमिल्ने उल्लेख गर्दै कानुनअनुसार अघि बढ्न सुझाव दिएकी छन्।

यस सन्दर्भमा आयोगलाई सरकारको सहयोग चाहिए गृहमन्त्री ओमप्रकाश अर्यालसँग समन्वय गर्न र आफूलाई जानकारी गराउन पनि प्रधानमन्त्री कार्कीले बताएकी छन्।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बयानमा उपस्थितिका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई छिट्टै पत्र काटिने बताए । ‘तत्कालीन प्रधानमन्त्री ओलीजीलाई बोलाउने क्रममा छौं । आयोगले अहिलेसम्म बोलाएका सबै आएका छन्, उनि पनि आउँछन् भन्ने आयोगको विश्वास छ,’ उनले भने। ओली नआए के गर्ने तयारी छ भन्ने प्रश्नमा कार्कीले भने, ‘भोलिको कुरा भोलि नै हुन्छ।’

आयोगका अनुसार बयानमा ओलीलाई सोधिने प्रश्न तयार भइसकेको छ। २३ भदौमा गरिएको दमन, सुरक्षाको तयारीलगायत विषयमा प्रश्न गरिने आयोगले जनाएको छ। आयोगले सामाजिक सञ्जाल बन्द गर्नुको कारण, प्रदर्शनका लागि जेन–जी युवाले अनुमति लिएकामा सरकार जानकार थियो कि थिएन जस्ता प्रश्न ओलीलाई सोधिने आयोगका एक सदस्यले बताए।

२४ भदौको घटना कसरी भयो, यसको जिम्मेवार को हो, संसद् भवनदेखि राष्ट्रपति कार्यालयसम्म आगजनी हुँदा किन सुरक्षा दिन सकिएन जस्ता प्रश्न पनि ओलीलाई सोध्ने तयारी गरिएको छ। फिल्डमा खटिएका सुरक्षाकर्मीदेखि तत्कालीन गृहमन्त्रीसम्मको बयानका क्रममा उठेका प्रश्नहरूलाई ध्यानमा राखेर ओलीका लागि प्रश्नावली बनाइएको आयोगका ती सदस्यले बताए ।

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा ५ असोजमा गठन भएको आयोगमा विज्ञानराज शर्मा र विशेश्वरप्रसाद भण्डारी सदस्य छन्। तीन महिना समय पाएको आयोगले काम पूरा नगरेपछि एक महिना म्याद थपिएको छ। आयोगले अब तीन साताभित्र बयानसमेत सकेर प्रतिवेदन तयार गर्नुपर्नेछ। आयोगका अध्यक्ष कार्कीले थपिएको एक महिनाभित्रै सरकारलाई प्रतिवेदन बुझाइने बताएका छबन्।

आयोगले सुरुमा क्षतिको विवरण संकलन गरेको थियो। त्यसपछि फिल्डमा खटिएका सुरक्षाकर्मीको बयान लिइएको थियो। आयोगले दोस्रो चरणमा सम्बन्धित अधिकृत हुँदै कार्यालय प्रमुखसम्मको बयान लिएको थियो। तेस्रो चरणमा प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान लिएको थियो।

चौथो चरणमा प्रशासनिक नेतृत्वमा रहेका तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, संसद्का महासचिव पदमप्रसाद पाण्डेय र तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिइएको थियो। पाँचौं चरणमा आयोग राजनीतिक तहमा प्रवेश गरेको थियो।

 

कमेन्ट लोड गर्नुस