नेपाली काँग्रेसबाट विद्रोह गरेका बैतडीका नेता हरिमोहन भण्डारी रास्वपामा आवद्ध
बैतडीः वि.सं. २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन् ।
उनले गएको मंसिर २३ गते नै पार्टीको सदस्यता लिएको कुरा बाहिर आएको छ । यद्यपि पौष १८ गते हुने जिल्ला सम्मेलनमा आफू औपचारिक रुपमा पार्टीमा आवद्ध हुने नेता भण्डारीले बताए । गएको प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीलाई कांग्रेसलाई कारवाही थियो । तर कांग्रेसले कारवाही फुकुवा गरेकै दिन भण्डारी रास्वपामा आवद्ध भएको खबर बाहिर आएको हो ।
आफूले रास्वपाबाट नयाँ राजनीति यात्रा शुरु गरेको भण्डारीले बताएका छन् । उनले भने, ‘पौष १८ गते हुने जिल्ला सम्मेलनबाट औपचारिक रुपमा पार्टीमा प्रवेश गर्छु । अहिले धेरै कुरा नभनौं । सक्रिय राजनीतिमा रहने कुरा छदैछ ।’ भण्डारीले रास्वपाको सदस्यता लिइसकेकाले आगामी निर्वाचनमा रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवार भण्डारी नै हुने आँकलन गरिएको छ । गएको निर्वाचनमा प्रदेश सभा क्षेत्र नम्बर (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले त्यति बेला ११ हजार १८ मत प्राप्त गरेका थिए । उनी एमालेका सुरेन्द्रबहादुर पालसँग पराजित भएका थिए ।
२०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेका थिए । उनले त्यो बेला १५ हजार १२६ मत प्राप्त गरेका भएपनि नेकपा माओवादी केन्द्रका पे्रमप्रकाश भट्टसँग पराजित भएका थिए ।