सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै अनिश्चित!
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने अझै टुङ्गो लागेको छैन। गत भदौ २४ मा भएको नवयुवाको आन्दोलनमा प्रदेश सभामा आगजनी भएसँगै प्रदेश सभाको चालु अधिवेशनको बैठक बस्न सकेको छैन।
पुस ६ गते सभामुख भीमबहादुर भण्डारीले दोस्रो हप्ताभित्रै प्रदेश सभाको बैठक बस्ने बएका थिए। पुस ७ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पुस ११ गते बैठक बसाल्ने समझादी भएको थियो। तर प्रदेश सभा भवनको मर्मतको काम सम्पन्न नहुँदा बैठक बस्ने मिति अनिश्चित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सञ्चालन गर्न अहिले प्रदेश सभा भवनको मर्मत सम्भारको काम भइरहेको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले प्रदेश सभाको ७० देखि ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम एक/दुई दिनमा सम्पन्न हुने बताएका छन्। काम सम्पन्न हुनासाथ आगामी मङ्गलवारसम्म प्रदेश सभाको बैठब बस्न सक्ने उनले बताए।
'अहिले प्रदेश सभाको ७० देखि ८० प्रतिशत काम सकिएको छ, बाँकी काम एक/दुई दिनमा सकिन्छ होला, त्यसपछि बैठक बस्छ,' उनले भने, 'पुस ७ गतेको कार्यव्यवस्था समितिको बैठकले पुस ११ गते बैठक बस्ने तय भएको थियो। मर्मतको काम नसकिएकोले बैठक बस्न सकेन। काम सम्पन्न हुनासाथ बैठक बोलाउने समझदारी भएको छ,' सूचना अधिकारी जैसीले दिनेशखबरसँग भने।
प्रदेश सभा बस्न नसक्दा प्रदेश सरकारको कानुन निर्माण गर्ने प्रक्रिया नै अवरुद्ध भएको छ। प्रदेश सरकारले संसद चलाएर सबैभन्दा पहिले स्थानीय सेवा ऐन संशोधन गर्न चाहेको बताउँदै आएको छ। गत असार १५ गते प्रदेश सभाबाट पारित स्थानीय सेवा ऐन निर्माण गर्दा संविधान र प्रचलित अन्य संघीय कानुन अतिक्रमण गरेको भन्दै स्थानीय तह र त्यहाँ कार्यरत कर्मचारीले बिरोध गर्दै आएका छन्। ऐनमा परेका विवादित प्रावधानका कारण प्रदेश सरकारले स्थानीय सेवा नियमावलीसमेत ल्याउन सकेको छैन।
सरकारले निर्माण गरेको स्थानीय ऐन विरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ। स्थानीय तहका कार्यरत कर्मचारी र स्थानीय तहका जनप्रतिनिध र सरोकारवालाले स्थानीय ऐनको विरोध गर्दै आएका छन्। स्थानीय सेवा ऐनमा विवादित प्रावधान परेकाले प्रदेश सरकारले अहिलेसम्म स्थानीय सेवा नियमावलीसमेत ल्याउन सकेको छैन।