सुदूर नेपाललाई विश्वसँग जोड्दै

करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

२०८३ मंसिर १, ०१:१० रासस

महेन्द्रनगर :कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।

सोमबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा करातेबाट २१ खेलाडी छनोट भएको जानकारी दिँदै कराते कञ्चनपुरका प्रशिक्षक वीरेन्द्रबहादुर चन्दले एकल काता, समूह काता र पुरुष तथा महिला ९कुमुतेतर्फ० खेलाडी सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने बताए ।

सुदूरपश्चिमबाट कराते एकल कातातर्फ कञ्चनपुरका नागेश थलाल, महिला एकल कातातर्फ कञ्चनपुरकै पार्वती पार्की छनोट भएका छन् ।

समूह कातातर्फ पुरुषमा कैलालीका प्रवेश मल्ल, मिलन कार्की र हेमबहादुर बोगटी तथा महिला समूह कातामा कञ्चनपुरका सुदिका अधिकारी, ज्यासमिनु मार्कण र निशा चौधरी छनोट भएको कराते प्रशिक्षक चन्दले जानकारी दिए ।

त्यसैगरी, कुमुतेतर्फ महिलामा ४५ किलो तौल समूहमा कैलालीका पूजा सुनार, ५० किलो तौल समूहमा कञ्चनपुरका आयुसा ताम्राकार, ५५ किलोतौलमा कैलालीका करुणा जाग्री, ६१ किलोतौल समूहका कैलालीका गरिमा मल्ल, ६८ किलोमा कैलालीकै मनिषा बोहरा सुदूरपश्चिम प्रदेशबाट छनोट भएका छन् ।

त्यसैगरी, पुरुषतर्फ ५० किलोतौल समुहमा कैलालीका छत्र थापा, ५५ किलो तौल समूहमा दार्चुलाका सुरेन्द्र लोहार, ६० किलोतौलमा कैलालीका लक्ष्मण विसी, ६७ किलोमा कैलालीकै अर्जुन थापा, ७५ किलो तौल समूहमा कैलालीका सन्देश पार्की, ८४ किलो तौल समूहमा कैलालीकै कमल ओली र ८४ किलो तौल समूह माथिको समूहमा कैलालीकै लोकेश पार्की छनोट भएका छन् ।


स्वर्ण ल्याए लाख दिने घोषणा

त्यसैगरी, महेन्द्रनगरमा आयोजित कराते प्रदेश छनोट समापन समारोहमा सुदूरपश्चिम प्रदेश कराते महासङ्घका अध्यक्ष त्रिलोक्यनाथ पाण्डेले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराते खेलमा सुदूरपश्चिमबाट छनोट भएका खेलाडीले स्वर्ण जिते रु एक लाख नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

कराते प्रशिक्षक चन्दका अनुसार प्रदेश अध्यक्ष पाण्डेले यहाँबाट छनोट भएका खेलाडीले स्वर्ण जिते प्रतिखेलाडी रु एक लाख दिने घोषणा गरेका हुन् ।

“यो खेलाडीलाई निकै हौसलाको विषय हो”, प्रशिक्षक चन्दले भने–“ प्रदेश अध्यक्षको घोषणा स्वागतयोग्य छ । खेलाडीलाई पदक जित्न थप प्रेरणा हुनेछ ।”

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा यहाँको कञ्चनपुर, कैलाली र डडेलधुरामा प्रदेशस्तरका छनोट प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आठ खेलमा भएको छनोट अन्तिम चरणमा पुगेको छ । सोमबार यहाँ कराते, तेक्वान्दो, महिला तथा पुरुष कबड्डी, ह्याण्डबललगायत खेलको छनोट सकिएको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय छनोट यही कात्तिक २८ देखि मङ्सिर १ गते जारी रहने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

कमेन्ट लोड गर्नुस