हेमराज खड्काले साढे चार लाखका मन्त्रालयका सामानसमेत फिर्ता नगरेको खुलासा
धनगढीः प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको एक स्कारपियो जिपसहित ६० लाखभन्दा बढी मूल्यको जिन्सी सामान कार्यालयमा फिर्ता नगरेका प्रदेश सरकारका स्वास्थ्य शिक्षा प्रशासक नवौं तहमा कार्यरत हेमराज खड्काले सामाजिक विकास मन्त्रालयको करिब साढे चार लाख मूल्यको जिन्सी सामान फिर्ता नगरेको तथ्य फेला परेको छ।
२०७५ सालमा सामाजिक विकास मन्त्रालयमा हाजिर भएका खड्का गत भदौ २३ गतेसम्म कार्यरत थिए। भदौ २३ मा बढुवा भएपछि अहिले उनी स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत छन्। भदौ २३ गतेसम्म सामाजिक विकास मन्त्रालय र प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको दोहोरो जिम्मेवारीमा रहेका खड्काले सरुवा भएको तीन महिनासम्म मन्त्रालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बुझेको जिन्सी सामान फिर्ता गरेका छैनन्।
संघीय र प्रदेश निजामति सेवा ऐनमा सरूवा भई रमाना लिएको २१ दिनभित्र कर्मचारीले बरबुझारथ गर्नुपर्ने नियमको खड्काले ठाडो उल्लङ्घन गरेको पाइएको छ। खड्काले स्वास्थ्य प्रवर्द्धन केन्द्रको दोहोरो जिम्मेवारीमा फेरि आउन चाहेकाले बरबुझारथ नगरेको सामाजिक मन्त्रालय स्रोतको दाबी छ। स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आउन मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई खड्काले आफ्नो पक्षमा पारेको स्रोतको दाबी छ। तर राज्यमन्त्री खड्काले भने उक्त कुरा अस्वीकार गरेकी छन्।
यी हुन् खड्काले मन्त्रालयमा नबुझाएका सामान
सामाजिक विकास मन्त्रालयबाट खड्काले विभिन्न मितिमा १३ वटा सामान बुझेर हालसम्म फिर्ता नगरेको विवरण मन्त्रालयले उपलब्ध गराएको छ। स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट चार पाङ्ग्रे गाडी लगेर फिर्ता नगरेका खड्काले सामाजिक विकास मन्त्रालयबाट लगेको दुई लाख ७४ हजार नौ सय मूल्यको एफजेड १५० सिसी मोटराइल फिर्ता गरेका छैनन्।
यस्तै, १२ हजार दुई सय मूल्यको हार्ड डिस्क, १४ हजार ८४८ मूल्य पर्ने अफिस टेबुल, १४ हजार पाँच सय मूल्यको स्टिल दराज, दुई हजार आठ सय मूल्यको वाल फ्यान, १३ हजार तीन सय मूल्यको लो बेड, मूल्य नखुलेको सोफा, ८५ हजार ३१५ मूल्यको लेनेभो ब्राण्डको ल्यापटप, आठ हजार मूल्यको मेट्रेस, दुई हजारको मोवाइल चार्जर, दुई हजार आठ सयको टि-टेबुल र सिमलगायतका सामान खड्काले मन्त्रालयमा फिर्ता नगरेको विवरणमा उल्लेख छ।
मन्त्रालयले विभिन्न मितिमा जिन्सी सामान फिर्ता गर्न लिखित र मौखिक रुपमा भने पनि खड्काले बुधवारसम्म कुनै पनि सामान फिर्ता गरेका छैनन्। यो विषयमा खड्कासँग बुझ्दा मन्त्रालयको स्टोरमा यसअघि कार्यरत लामिछाने थरका कर्मचारी डडेल्धुरा सरुवा भएकाले जिन्सी सामान फिर्ता गर्न समस्या भएको बताए। खड्काले लामिछानेलाई रमाना तयार गर्न मन्त्रालयमा आउन अनुरोध गरिएको र उनले आएर पत्र तयार पारेकै दिन सबै सामान फिर्ता गर्ने बताएका छन्।