सुदूर नेपाललाई विश्वसँग जोड्दै

'प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको हाकिम हुने खड्काको मिसन सफल'

२०८२ मंसिर १३, ०१:०२ नारायण अवस्थी

धनगढीः कैलालीस्थित प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका तत्कालीन प्रमुख हेमराज खड्का भदौ २३ गते अधिकृत आठौंबाट नवौं तहमा बढुवा भए।

सामाजिक विकास मन्त्रालय र प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको प्रमुखको दोहोरो जिम्मेवारीमा रहेका खड्काको बढुवापछि स्वास्थ्य तालिम केन्द्र धनगढीमा पदस्थापना भयो। स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न विशेष भूमिका खेलेका खड्काले सरुवा अन्यत्रै भए पनि कार्यालयप्रतिको मोह भने त्याग्न सकेका थिएनन्।

कञ्चनपुरका लालबहादुर खड्का सामाजिक विकास मन्त्री हुँदा हेमराज खड्काकै जोडबलमा कञ्चनपुरमा २०७८ फागुन ११ गते कार्यालय रहने गरी प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना भएको थियो। खड्का मन्त्रीबाट हटेपछि महेन्द्रनगरमा रहेको उक्त कार्यालय धनगढी सारिएको हो।

स्थापनादेखि नै हाकिमको जिम्मेवारीका रहेका खड्काले सरूवा भएको लामो समयसम्म प्रवर्द्धन केन्द्रको गाडी प्रयोग गर्दै आएका छन्। खड्काको सरुवापछि निमित्त प्रमुखको जिम्मेवारीसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सरुवा भएका तेजविक्रम शाहीलाई खड्काले गाडी र कार्यालय प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेनन्।

कञ्चनपुरका लालबहादुर खड्का सामाजिक विकास मन्त्री हुँदा हेमराज खड्काकै जोडबलमा कञ्चनपुरमा २०७८ फागुन ११ गते कार्यालय रहने गरी प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना भएको थियो।

'खड्काले कार्यालय नै सरूवा गरे'
सुदूरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रवद्र्धन केन्द्रको कार्यालय उद्घाटन गरेका थिए। स्वास्थ्य शिक्षालाई जनस्तरसम्म पुर्यााउन कार्यालय स्थापना गरिएको मन्त्री स्ययंले दाबी गरेका थिए। २०७८ मा कञ्चनपुरमा स्थापना भएको स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख रहेका हेमराज खड्काकै जोडबलमा सो कार्यालय धनगढी सारियो। केही समय धनगढी-८ को आर्युवेद अस्पतालमा राखिएको कार्यालय अहिले भने धनगढी-५ मा एक घर भाडामा लिएर राखिएको छ।

जिल्लास्थित स्वास्थ्य कार्यालयहरूले नै गर्नसक्ने काममा लागि प्रदेश सरकारले अस्थायी कार्यालयका रुपमा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेर वार्षिक ५/६ करोड बजेट खर्च गर्दै आएको छ।

प्रदेशका ९ वटै जिल्ला कार्यक्षेत्र तोकिएको कार्यालयका पाँच जना कर्मचारीको मात्रै दरबन्दी छ। सामाजिक विकास मन्त्रालयमा समेत दोहोरो जिम्मेवारी पाएका खड्काले महेन्द्रनगरमा स्थापना भएको कार्यालयको धनगढी सरुवा गराउन सफल भएका थिए। अहिले दरबन्दी संशोधन गरेर आफैं हाकिम हुनु उनका लागि सजिलो विषय भएको एक कर्मचारीको टिप्पणी छ।

दरबन्दी संशोधन, 'खड्का नै फेरि प्रमुख हुने'
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको २०७८ देखि प्रमुख रहेका हेमराज खड्काले अन्यत्र सरुवा हुँदा पनि सो कार्यालयलाई बिर्सन नसकेको सामाजिक विकास मन्त्रालयका एक अधिकारीले बताए। ७/८ औं तहको अधिकृत कार्यालय प्रमुख हुने भए पनि अस्थायी दरबन्दी संशोधन गर्न लगाएर प्रवर्द्धन केन्द्रको प्रमुखको पद नछोड्ने योजना कार्यान्वयन गर्न खड्काले सक्दो मेहनत गरिरहेको मन्त्रालय स्रोतको दाबी छ।

खड्काकै जोडबलमा सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य प्रवर्द्धन केन्द्रको अस्थायी दरबन्दी संशोधनको फाइल गत साउनमै मुख्यमन्त्री कार्यालय पुगेको थियो। कार्यालय प्रमुख नवौं तहको अधिकृत हुने निर्णय गराउन र आफू हाकिम हुने खेलमा खड्का सफल भएका छन्।

मन्त्रिपरिषद्को मंसिर २ गते बसेको बैठकले प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको अस्थायी दरबन्दी संशोधन गरेको छ। दरबन्दी स्वीकृत भएसँगै हाल नवौं तहका खड्काको हाकिम हुने बाटो खुलेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रभावित बनाएर खड्काले आफू अनुकूल दरबन्दी संशोधन गर्न सफल भएको सामाजिक विकास मन्त्रालय स्रोतको दाबी छ। खड्काले भने आफूले फेरि स्वास्थ्य प्रवर्द्धन केन्द्रको प्रमुख हुन कुनै किसिमको लविङ नगरेको बताउने गरेका थिए। सरुवापछि समेत गाडी र कार्यालयको जिम्मेवारी हस्तान्तरण गर्न आनाकानी गर्दै आएका खड्का फर्केर कार्यालयको जिम्मेवारी हासिल गर्ने मिसनमा सफल भएको कर्मचारी स्रोतको दाबी छ।

यद्यपि शुक्रवारसम्म स्वास्थ्य तालिम केन्द्रबाट खड्काको सरुवाको टिप्पणी उठेको छैन। तालिम केन्द्रबाट प्रादेशिक स्वास्थ्य केन्द्र सरुवा नभए दोहोरो जिम्मेवारी लिने खड्काको मिसन दरबन्दी संशोधन हुँदा सफल हुने सम्भावना बढेको कर्मचारी स्रोतको दाबी छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस