एमाले महाधिवशेनः दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गियो
काठमाडौँ: नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ।
महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको छ। उनले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए। केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको उनले बताए। सचिव ढुङ्गेलले सबै जिल्लाबाट छनोट गरिएका प्रतिनिधि प्रदेश कमिटीको कार्यालयमा विवरण सङ्कलन भइरहेको जानकारी दिए।
“प्रतिनिधिका विवरण प्रदेश कमिटीमा महाधिवेशन शुल्कसहित सङ्कलन भइरहेको छ”, उनले भने, “एक दुई दिनमा सवै प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आउने छ र हामीले उक्त प्रतिनिधि कार्ड बनाएर वितरण गर्ने छौँ।” महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन्। महाधिवेशनमा सहभागी हुने आयोजकलाई तीन हजार र प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकिएको छ। एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ।