सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका जगदीश सरः जसले ४२ वर्ष सबै विषय अध्यापन गरे, २५ वर्षसम्म बिदा नै बसेनन्

२०८२ मंसिर १७, ०२:५५ नारायण अवस्थी

धनगढीः  ४२ वर्षसम्म सरकारी विद्यालयमा अध्यापन गरेर भर्खरै सेवा निवृत्त भएका बैतडीका जगदीशसिंह ऐरले ४२ वर्ष लामो शिक्षण अवधि ४२ दिन जत्तिकै छोटो लागेको प्रतिक्रिया दिएका छन्। निम्न माध्यमिक तहको द्वीतीय श्रेणीको शिक्षकबाट ऐर २०८२ मंसिर ९ गते सेवा निवृत्त भएका हुन्। डडेल्धुराको अजयमेरू- १ खतेडामा रहेको घनघस्या माध्यमिक विद्यालयबाट उमेर हदका कारण ऐरले अवकाश पाएका हुन्।

बैतडीको पाटन नगरालिका वडा नम्बर २ बिनोडामा २०२२ मंसिर ९ गते आमा कुन्धादेवी ऐर र बुवा धौलसिंह ऐरका दोस्रो सन्तानका रुपमा जन्मेका जगदीश सिंह ऐरले २०३९ सालमा एसएलसी पास गरेका हुन्। ऐरले एसएसली पास गरेसँगै २०४० सालदेखि २०४३ सम्म तीन वर्ष स्थानीय विद्यालयहरुमा स्वयंसेवक शिक्षक भएर पढाएको सुनाए।

आइए पास गर्ना साथ ऐरले २०४३ असोज ५ गतेदेखि निम्न माध्यमिक तहको अस्थायी शिक्षकमा सिफारिस भएको बताए। त्यसपछि उनले २०४४ असार २५ गते निम्न माध्यकि तहको शिक्षकमा स्थायी नियुक्ति पाए। बैतडी सिलङ्गाको सिद्धनाथ माध्यमिक विद्यालय, बैतडी पाटनको कृष्ण माध्यमिक विद्यालय हुँदै डडेल्धुराको घनघस्या माध्यमिक विद्यालदयमा ऐरले ४२ वर्षसम्म बढएको बताएका छन्।

'४२ वर्षको शिक्षण यात्रा ४२ दिन झै लाग्यो'
६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका ऐर सरले आफूले ४२ वर्ष पढाए पनि ती ४२ वर्ष ४२ दिन झै लागेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमएड र बिए उत्तीर्ण गरेका ऐर सरले ४२ वर्षे शिक्षणकालमा सबै विषय अध्यापन गरेको अनुभव संगालेका छन्। उनले अङ्ग्रेजीका अतिरिक्त अनिवार्य गणित, विज्ञान, नेपाली र ऐच्छिक गणितसमेत पढाएको बताएका छन्। उनले कक्षा १ देखि १२ सम्मका सबै विषयका पाठहरू कण्ठ गरेको र पाठ्यपुस्तक नहेरेरै अध्यापन गर्ने गरेको सुनाए।

'मैलै ४२ वर्ष विद्यालयमा पढाएँ, ४२ वर्ष मलाई ४२ दिन झै लाग्यो। भर्खरै अवकाश पाएँ तर मैले मेरो जन्म पढाउन नै भएको भन्ने ठानेर विद्यार्थीहरूलाई बिना कुनै अल्छि पढाउने काम गरेँ,' उनले भने, 'पढाउने कुरा मात्रै गर्दा र सोच्दा मैलै तीर्थव्रत गर्ने, बढुवाका लागि प्रतिस्पर्धा र भनसुन गर्ने कुरासमेत बिर्सेँ।'

'सबैका प्रिय र अलराउण्डर जगदीश सर'
विद्यार्थी र अभिभावकबिच सदैव लोकप्रिय रहेर कर्मठ तथा कर्तव्यनिष्ठ शिक्षकको पहिचान बनाएका जगदीश सर एसएलसी पास भएपछि विज्ञान पढ्न महेन्द्रनगर आएका थिए। तर तराईको गर्मी सहन नसकेर पढाइ छोडेर उनी बैतडी नै फर्किएका थिए। त्यसपछि उनले अङ्ग्रेजी विषयमा आइए र बिए भने पिथौरागढबाट गरेका हुन्।

जगदीश सरका पूर्व विद्यार्थी समेत रहेका धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रघुबिर भट्टले जगदीश सर दार्शनिक शिक्षक भएको टिप्पणी गरेका छन्। भट्टले जगदीश सर एक कर्मठ, इमानदार तथा विद्यार्थी र अभिभावका प्रिय शिक्षक रहेको बताए।

'उहाँ सबै विषय पढाउनु हुन्थ्यो, हामीलाई विज्ञान, गणित, ऐच्छिक गणित र अङ्ग्रेजी पढाउनु भएको हो,' भट्टले भने, 'जगदीश सर सर्वगुण सम्पन्न, पेशाप्रति समर्पित र अलराउण्डर गुरू हुन्। उहाँ त रोलमोडेल शिक्षक हो। बिहान, साँझ नभनी दिनभरी पढाउन सक्ने कर्मठ शिक्षक भनेर जगदीश सरलाई सबैले सम्मान गर्छन्,' भट्टले भने।

२५ वर्षसम्म एक दिन बिदा नबस्ने शिक्षक
४२ वर्षे शिक्षण यात्रामा पछिल्लो २५ वर्षको अवधिमा एक दिन पनि बिदा नबसेका जगदीश सरले सुविधाका क्याजुअल र पर्व बिदामा कहिल्यै घर नबसेको बताएका छन्।

उनका विद्यार्थी समेत रहेका रघुबिर भट्टले समेत जगदीश सर विद्यालयमा गयल भएको र नपढाएको कहिल्यै नदेखेको बताए। २५ वर्षसम्म कुनै दिन बिदा नबसेका जगदीश सरले रातिको समयबाहेक बाटोमा हिँडदा, खेतमा काम गर्दा र चिया पिउँदासमेत विद्यार्थीहरूलाई कुनै न कुनै विषय या हिसाब या फर्मुला सिकाएको, प्रश्नको उत्तर लेखाएको इतिहास निर्माण गरेका छन्।

उनको पेशाप्रतिको समर्पणको विद्यार्थी र अभिभावकले प्रशंसा गरे पनि चर्चित हुने लोभ भने कहिल्यै नपलाएको बताएका छन्। उनले भने, 'पढाउनु, सिकाउनु मेरो कर्तव्य थियो। मैलै आफूले पाएको कर्तव्य इमानदारीपूर्वक पूरा गर्ने प्रयास गरेको हुँ। मलाई यही कुरामा गर्व छ। सेवा निवृत्त भए पनि पढाउने काम छोडन्न। विद्यालयमा बिदा हुनासाथ विद्यार्थी पढ्न घरमै आउँछन्।' 

केटा मास्टरःजगदीश सर
जगदीश सरले बैतडी दुर्गास्थानको श्रीकेदारेश्वर माध्यमिक विद्यालयमा समेत अध्यापन गराएका छन्। दर्गास्थानमा उनलाई अहिले पनि 'केटा मास्टर' भनेर स्थानीयले सम्झिने गरेको विद्यालयका प्राधानाध्यापक हरिष चन्दले बताए। 'जगदीश सरलाई सबैले 'केटा मास्टर'  भनेर स्थानीयले सम्झने गरेका छन्।

उहाँ एक एक कुसल, सक्षम र इमानदार शिक्षक मात्रै होइन् प्रकृति प्रेमी, डेउडा प्रेमी र विद्यार्थीको पढाइ र विद्यालयको भौतिक प्रगतिका लागि चिन्तित शिक्षकको रुपमा मैले सम्झिने गरेको छु,' उनले भने, 'बैतडीको शिक्षा क्षेत्रमा उहाँको राम्रो योगदान छ। उहाँको रेकर्ड धेरै राम्रो छ। उहाँ सबै विषयवस्तुको ज्ञाता र जहिल्यै सक्रिय भइरहने शिक्षक हुनुहुन्छ।'

'जगदीश सरले पढाएका विद्यार्थी फेल भएनन्'
जगदीश सरले आफ्नो शिक्षण जीवनमा २७ वर्षसम्म बैतडी सिलङ्गाको सिद्धनाथ माध्यमिक विद्यालयमा अध्यापन गराएको बताएका छन्। उक्त विद्यालयका प्रधानाध्यापक लक्ष्मणसिंह बोहराले पेशामा दत्तचित्त भएर लाग्ने एक कुशल शिक्षकको रुपमा जगदीश सरलाई पाएको टिप्पणी गरेका छन्।

उनले जगदीश सरलाई कुशल शिक्षक, सबै विषयवस्तुमा पोख्त र सरलजीवनशैली भएको सहकर्मीको रुपमा पाएको बताएका छन्। प्रधानाध्यापक बोहराले सहजै उपलब्ध हुने, जुनसुकै विषय पढाउन सक्ने, पठनपाठन भनेपछि खुशी हुने र शिक्षक भएकोमा गर्व गर्ने व्यक्ति जगदीश सर भएको बताएका छन्।

'जगदीश सरसँग मैलै सात वर्षजति सहकार्य गरेँ, उहाँ शिक्षक भएकोमा गर्व गर्ने, विद्यालयको विकासमा र विद्यार्थीको पढाइको विषयमा सदैव चिन्तन गर्नुहुन्थ्यो,' उनले भने, 'दिउँसो राति नभनेर विद्यार्थीहरूलाई पढाउने बानीका कारण उहाँले पढाएको विषयमा विद्यार्थी फेल हुँदैनथे। बैतडीको शिक्षा क्षेत्रमा ऐर सरको योगदानको अमिट छाप छ। उहाँलाई एक आदर्श व्यक्तिको रुपमा मैले लिने गरेको छु।'

डडेल्धुराको घनघस्या माध्यमिक विद्यालयका प्रधानाध्यापक शङ्कर प्रसाद भट्टले जगदीश सर एक सर्वगुण सम्पन्न, सबै विषयका ज्ञाता, बहुमुखी प्रतिभाको धनी, विद्यार्थी र विद्यालयको हितमा इमानदार भएर खट्न सक्ने शिक्षक भएको बताएका छन्। उनले जगदीश सरलाई बालमैत्री शिक्षणमा कुसल, कसैले चिन्न नसकेको सुदूरपश्चिममा शिक्षा क्षेत्रको एक नक्षत्र भएको बताएका छन्।

'उहाँ सर हाम्रो विद्यालयबाट भर्खरै सेवानिवृत्त हुनुभएको छ। उहाँ शिक्षा क्षेत्रको एक नक्षत्र नै हुनुहुन्छ तर सुदूरपश्चिममा उहाँलाई कसैले चिन्न सकेनन्,' उनले भने, 'दिनमा १२ घण्टा पढाउन सक्ने, शिक्षक भएकोमा गर्व गर्ने र सेवानिवृत्त भएपछि पनि पढाउने काम नै गर्छु भन्ने उहाँ एक सर्वगुण सम्पन्न शिक्षक हुनुहुन्छ।'

यस्तै पाटनको कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रसिंह केसीले जगदीश सरलाई एक कुशल, सक्षम र इमानदार शिक्षकको रुपमा देखेको बताएका छन्। जगदीश सरले बाँकी समयमा अहिले पनि पढाउने र सिकाउने कामबाट विश्राम नलिने बताएका छन्। उनले विद्यालयमा बिदा भएका बेला र लामो दिन हुना साथ वरपरका चार विद्यालयका विद्यार्थी घरमै आएर पढ्ने गरेको बताएका छन्।

ट्युसन शुल्क नलिने सर
जगदीश सरले विद्यालयका सबै परियड पढाएर पनि खाजा समयमा समेत पढाउने गरेको बताएका छन्।

उनले शनिवार विद्यालय बिदाको दिन भने घरमै आउने विद्यार्थीलाई पढाउने गरेका छन। साँझ बिहान घरमा ट्युसन पढन आउने विद्यार्थीलाई गर्न लागेको काम छोडेर समेत पढाएको विगत भएका उनले अझै पढाउने क्रमबाट बिमुख नहुने बताएका छन्।

उनले ४२ वर्ष लामो शिक्षण अवधिमा घरमा आउने विद्यार्थीबाट कुनै शुल्क नलिएको बताए भने ग्रेड र बढुवाका लागि समेत कुनै कसरत गर्न नगरेको बताएका छन्। उनले २०५२ सालमा निमावि द्वितीयको परीक्षा दिएको र त्यसो नतिजा २०६० सालमा आउँदा उत्तीर्ण भए पनि त्यसपछि निमावि प्रथमका लागि कुनै प्रयास नै नगरेको बताए।

लामो शिक्षण यात्रामा सदैव उत्कृष्ट नतिजा दिएका उनले निमावि द्वितीय श्रेणीबाट गत मंसिर ९ गते अनिवार्य अवकाश पाएका हुन्। आफ्नो ४२ वर्षे शिक्षण कालमा कक्षामा पढाउँदा कहिल्यै कुर्सी नबसेको जगदीश सरले बताए।

जगदीश सरका धर्मपत्नी देवकी ऐर पनि शिक्षण पेशामा नै आवद्ध छन्। उनी स्थानीय बारागर आधारभूत विद्यालयकी प्रधानाध्यपक हुन्। उनका छोरा हेमन्त ऐर पनि इन्जिनियरिङ क्षेत्रमै छन भने अन्य  चार जना छोरीमध्ये दुई छोरी इन्जिनियर, एक छोरी इन्जियर अध्ययनरत र एक छोरी  स्नातकोत्तर सकेर बिमामा जगिरे रहेको जगदीश सरले बताए ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस