प्रदेश लोक सेवाको ६९ पदको विज्ञापनमा करिब २२ हजार जनाले दिए आवेदन
धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले खोलेको आर्थिक वर्ष २०८१/८२ को सहायक पाँचौ तहको विभिन्न एघार सेवा र समूहको ६९ पदका लागि खुलेको विज्ञापनमा करिब २२ हजार जनाले आवेदन दिएका छन्।
प्रदेश लोक सेवा आयोगले सार्वजनिक गरेको विवरणमा सहायक पाँचौ तहको ६९ सिटका लागि २१ हजार ८३० जनाको आवेदन स्वीकृत भएको छ।
गत आर्थिक वर्षमा प्रदेश लोक सेवा आयोगले माग भएका कम्प्युटर अपरेटर, फार्मेसी सहायक, ल्याब टेक्निसियन, कविराज, पब्लिक हेल्थ नर्स, स्टाफ नर्स, रेन्जर, पशु तथा कृषि प्राविधक, सव-इन्जिनियर र प्रशासन सहायक/ लेखापालका लागि विज्ञापन गरेको थियो। लोक सेवा आयोगले मंसिर ११ गते विभिन्न प्राविधिक र अप्राविधक सहायक पाँचौ तहका लागि आएका दरखास्त मध्ये २१ हजार ८३० जनाको आवेदन स्वीकृत भएको विवरण सर्वाजनिक गरेको हो।
प्रशासनतर्फ सबैभन्दा धेरै आवेदन
प्रदेश लोक सेवा आयोगले गरेको प्रशासन सहायक/ लेखापाल पदका लागि २९ दरबन्दीका लागि विज्ञापन गरेकोमा सबैभन्दा धेरै आवेदन दर्ता भएका छन्। प्रशासन सहायकका लागि नौ हजार ८३५ जनाले आवेदन दिएका छन्।
पाँचौ तहको प्रशासन सहायकपछि दोस्रोमा सव-इन्जिनियरको ९ सिटका लागि चार हजार २६३ जनाको आवेदन परेको छ।
प्रदेश लोक सेवा आयोगले कृषि प्राविधिकतर्फ तीन सिटका लागि विज्ञापन गरेकोमा दुई हजार ८४० जनाको आवेदन परेको छ भने कम्प्युटर अपरेटर पदमा पाँच जनाको विज्ञापन खोलेकोमा एक हजार ५३० जनाको निवेदन परेको छ।
यस्तै, रेन्जर पदको १३ सिटमा एक हजार २८६ जनाको आवेदन परेको छ भने पशु सेवा प्राविधिकको दुई सिटका लागि ९०४ जनाबिच प्रतिस्पर्धा हुने भएको छ। यसैगरी दुई सिट स्टाफ नर्सका लागि ३०४ जनाको आवेदन परेको छ भने तीन सिट रहेको पब्लिक हेल्थ नर्सका लागि २८८ जनाको निवेदन परेको छ।
प्रदेश लोक सेवाले कविराज पदमा एक सिटका लागि विज्ञापन खोलेकोमा १२८ जनाको, ल्याब टेक्निसियनको एक पदका लागि २५१ जना तथा फार्मेसी सहायकको एक पदका लागि २०१ जनाको आवेदन परेको जनाएको छ।