पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह
धनगढीः नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बमले कोल्ड स्टोरको पाँच करोड अनुदान दिन प्रदेश सरकारले आफूसँग एक करोड घुस मागेको दाबी गरेका थिए। गत बिहीवार अध्यक्ष बमले प्रदेश सरकार भ्रष्टाचारको अखडा रहेको दाबी गरेका थिए।
बमको यस्तो आरोपपछि विभिन्न सञ्चार माध्यममा यो विषय सार्वजनिक भएको थियो। पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको भन्ने नवजीवन सहकारीका अध्यक्ष बमले लगाएको आरोप पुष्टि भए जोसुकै संलग्न भए पनि कारबाही गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताएका थिए। मुख्यमन्त्रीको निर्देशनमै आइतवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बमले लगाएको आरोप पुष्टि गर्न प्रमाण दिनुपर्ने बताएका छन्।
बमले गत वर्ष कोल्ड स्टोरको पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको भने पनि कोल्ड स्टोरका लागि संघ सरकारबाट आर्थिक वर्ष २०७९/८० मा पाँच करोड बजेट आएको स्पष्ट पारेका छन्। त्यो समयमा आफू मन्त्री नभएको र मन्त्रालयका कुनै पनि व्यक्तिले घुस मागेको प्रमाणित भए प्रदेश सरकारले आवश्यक कारबाही गर्ने बताएका छन्।
'उहाँले गत वर्षको बजेट भन्नु भएको छ तर कोल्ड स्टोरका लागि संघ सरकारबाट आर्थिक वर्ष २०७९/८० मा पाँच करोड अनुदान आएको छ। त्यो समयमा म मन्त्री पनि थिएन। उहाँले कसले घुस मागेको हो भन्ने प्रमाण दिएर सहयोग गर्नुपर्छ। हामी सलग्नलाई कारबाही गर्ने छौँ,' मन्त्री थापाले भने।
मन्त्री थापाले घुस मागेको विषय सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्। उनले आरोप लगाउने अध्यक्ष बमले कसले घुस मागेको हो त्यस प्रमाण दिनुपर्ने बताएका छन्। प्रमाण फेला परेको खण्डमा संलग्न सबैलाई सरकारले कारबाही गर्ने स्पष्ट पारेका छन्।
मन्त्री थापाले नवजीवन सहकारीका अध्यक्ष बमले गाडी खरिदको अनुदान नदिएको भन्ने दाबीमा पनि सत्यता नभएको बताएका छन्। यस्तै मेहन्द्रनगरको उदयदेव सहकारीको कुरामा पनि सत्यता नभएको बताएका हुन्। तर पाँच करोड अनुदानमा घुस मागिएको विषयमा बमले प्रमाण उपलब्ध गराउनुपर्ने मन्त्री थापाले बताएका छन्।