सुदूर नेपाललाई विश्वसँग जोड्दै

'सुदूरपश्चिम सरकारले ५ करोड अनुदान दिन एक करोड घुस माग्यो'

२०८२ मंसिर १३, ०४:४३ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड अनुदान दिँदा एक करोड घुस मागेको विषय सार्वजनिक भएको छ। धनगढीको नवजीवन सहकारीका अध्यक्ष देवबहादुर वमले प्रदेश सरकारले खुलेआम घुस माग्ने गरेको आरोप लगाएका हुन्।

सामाजिक सुरक्षा दिवसको अवसरमा बिहीवार धनगढीमा आयोजित कार्यक्रममा नवजीवन सहकारीका अध्यक्ष वमले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारको अखडा बनेको बताएका हुन्। उनले पैसा नदिई प्रदेश सरकारबाट कुनै पनि काम नहुने गरेको बताएका छन्। 'भ्रष्टाचारको अखडा भनेको सुदूरपश्चिम प्रदेश सरकार, पैसा नदिई कुनै काम हुँदैन।

नवजीवनले कोल्ड स्टोर बनाउन प्रपोजल हाल्यो, डेढ बिघा जग्गा किन्यो र प्रदेश सरकारले पाँच करोड विनियोजन गर्यो। नवजीवनले दस करोड हाल्छ भन्दाखेरी एक करोड घुस मागियो,' उनले भने, 'त्यसको प्रत्यक्षदर्शी म छुँ काँ गएर भन्नुपर्छ, म भन्छु।'

अध्यक्ष वमले कोल्ड स्टोरका लागि नवजीवन सहरकारीले पाँच करोड अनुदान पाउन एक करोड घुस मागिएको स्पष्ट पारेका छन्। उनले गत आर्थिक वर्षको कोल्ड स्टोरको पाँच करोड बजेट प्रदेश सरकारले फ्रीज हालेको दाबी गरेका छन्।

अध्यक्ष वमले प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा नवजीवन सहकारीलाई चामल ढुवानी गर्न गाडी दिने भन्दै छुट्याएको बजेटसमेत फ्रीज हालेको दाबी गरेका छन्। उनले अगाडि भनेका छन्, 'कमिसन दिए काम हुने, कमिसन नदिए काम नहुने यस्ता हजारौ उदाहरण छन्,' उनले भनेका छन्, 'झोलामा रहेको सहकारीले पैसा बुझाएर अनुदान पाएको छन्। त्यसको पाचसौं उदाहरण छन्।'

अध्यक्ष वमले सुदूरपश्चिमका नेता भ्रष्टाचारी भएकाले प्रदेशको विकास हुन नसकेको बताएका छन्। आफूले बोलेको कुरा यथार्थपरक भएको र पचासौं उदाहरण दिन सक्ने उनले बताएका छन्।

सहकारीहरूलाई अनुदान दिन प्रदेश सरकारले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत बजेट विनियोजन गर्ने गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयप्रतत लक्षित गर्दै प्रदेश सरकारले बजेट निकासा गर्दा २० प्रतिशत कमिसन माग्ने गरेको वमले बताएका हुन्।

उसो त प्रदेश सरकारबाट संस्थागत भन्दा व्यक्तिगत योजनामा बजेट हाल्ने अभ्यास रहेको भन्दै स्थानीय तहका प्रमुखहरूले प्रदेश सरकारको आलोचना गर्दै आएका छन्। गत कात्तिक २५ गते डोटीको दिपायलमा मुख्यमन्त्री शाह उपस्थित कार्यक्रममै दिपायल सिलगढीका नगर प्रमुख बजिरसिंह खड्काले प्रदेश सरकारले व्यक्तिका योजनमा मात्रै बजेट हाल्ने गरेको गुनासो गरेका थिए। यस्तै प्रदेशका अन्य पालिका प्रमुखहरूको पनि प्रदेश सरकारले व्यक्तिका योजनामा बजेट हाल्दै आएको बताउने गरेका छन्।

हरेक वर्ष नयाँ बजेट निर्माण हुँदा योजना किनबेच भइरहेको चर्चा चल्ने गरेको छ। मुख्यमन्त्री शाहले भने प्रमाण लिएर आए कारबाही गर्ने बताउँदै आएका छन्। तर अहिलेसम्म भ्रष्टाचार गरेको भन्दै प्रदेश सरकारले कसैलाई कारबाही भने गरेको छैन।

यता मुख्यमन्त्री कमलबहादुर शाहले नवजीवन सहकारीका अध्यक्ष वमले लगाएको आरोपबारे सत्यतथ्य बुझ्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापालाई निर्देशन दिएको बताएका छन्।

उनले वमको आरोपबारे सत्यतथ्य छानविन गरेर पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्न मन्त्री थापालाई निर्देशन दिएको बताएका छन्। मुख्यमन्त्री शाहले वमले लगाएको आरोप सत्य सावित भए त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने बताएका छन्। 'मैले मन्त्रीलाई भनिसकेको छु। ती मान्छेलाई बोलाएर, पत्रकारसमेत राखेर स्पष्ट पार्न भन्नुस् भनेको छु। तथ्य प्रमाण भेटियो भने चाहे मन्त्री होस्, चाहे सचिव होस् चाहे अरू जोसुकै होस्, म कारबाही गर्छु भनिसकेको छु।'

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस