नयाँ पुस्ताका नौजवान हाम्रो पार्टीसँग आकर्षित छन्- माधव नेपाल
धनगढीः नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले जेन्जीहरू आफ्नो पार्टीसँग आकर्षित भएको बताएका छन्।
शुक्रवार धनगढीमा भएको पार्टीको एकता सन्देश भेलामा बोल्दै नेता नेपालले नयाँ पुस्ताका नौजवान धमाधम आफ्नो पार्टीमा आइरहेको बताएका हुन्। 'जेन्जीहरू हाम्रो पार्टी आएका छन्। नयाँ पुस्ताका नौजवान हाम्रो पार्टीसँग आकर्षित छन्।
हाम्रो राम्रो उद्देश्य छ। हाम्रो दिमागमा देश कसरी बनाउने भन्ने छ,' उनले भने, 'विदेशीको पछि लाग्ने होइन। जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने हो। विवधतालाई सम्मान गर्दै अगाडि बढ्नेमा हाम्रो ध्यान छ। पार्टीले समाजवादमा अगाडि बढ्ने संकल्प लिएको छ।'
सबै नेता उस्तै नभएको भन्दै नेकपाले समाजवाद आत्मसात गर्दै देश विकास गर्न चाहेको नेता नेपालले बताएका छन्। उनले सबै नेता गलत भन्ने भाष्य गलत रहेको बताएका छन्। 'सबै नेता नराम्रा होइनन्। राम्रा पनि छन्, नराम्रा पनि छन्। कुरा सुन्यो कि पोल्यो। आफ्नै गुणगान सुन्ने पनि छन्। यो देश हामीले बनाउने हो भन्ने पनि छन्,' उनले भने, '
भव्य उपस्थितिले सुपबाट नेकपा पार्टी पहिलो हुन्छ भन्ने सन्देश दिएको नेता नेपालले बताएका छन्। उनले यो देश निर्माण गर्ने अभियानमा अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। नेता नेपालले देशमा समस्या खडा भएको बताउँदै त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने बताएका छन्। उनले प्रचण्ड र आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा धैरै राम्रा काम भएको चर्चा गरेका छन्।
नेता नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताएका छन्। उनले राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण हुनु पर्ने बताएका छन्। उनले राजनीतिक दलहरूमा अपराधीकरण व्याप्त रहेको समेत बताए।
‘दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको छ,’ उनले थपे, ‘त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ।’
‘अहिले देशका कुशासन व्याप्त छ । भ्रष्टाचार व्याप्त छ। त्यसलाई अन्त्य गर्ने काममा यो पार्टीले अगुवाइ गर्नेछ,’ उनले भने, ‘राजनीतिमा लाग्नेहरूमा जबसम्म इमान्दारी हुँदैन, समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुँदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई देश र जनताको चिन्ता छ। हामी नयाँ नेपाललाई समाजवादको बाटोमा अगाडि बढाउने छौँ।'