सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयले गर्‍यो दरबन्दी नै नभएको कार्यालयमा सरुवा

२०८२ मंसिर ९, ०५:०४ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले दरबन्दी नै नभएको कार्यालयमा कर्मचारी सरुवा गरेको पाइएको छ। मन्त्रालयले गत कात्तिक २५ गते गरेको स्वास्थ्य सेवाका कर्मचारी सरुवामा त्रुटि फेला परेको हो।

मन्त्रालयले नेपाल स्वास्थ्य सेवा ५/६/७ तहका कर्मचारी सरुवा गर्दा दरबन्दी नै नभएको कार्यालयमा पठाएको छ।मन्त्रालयले  स्वास्थ्य कार्यालय कञ्चन्पुरमा कार्यरत मलेरिया इन्सपेक्टर निरीक्षक  छैठौं सिद्धराज भट्टलाई महाकाली प्रादेशिक अस्पताल सरुवा गरेको छ। जबकि महाकाली अस्पतालमा मलेरिया इन्सपेक्टर निरीक्षकको दरबन्दी नै छैन।

भट्टको ठाउँमा महाकाली अस्पतालबाट भेक्टर कन्ट्रोल अधिकृत सातौं  दिपेन्द्रसिंह रावलको सरुवा गरिएको छ। रावललाई स्वास्थ्य कार्यालयको प्रमुखको जिम्मेवारी दिने गरी सरुवा गरिएको कर्मचारी स्रोतको दाबी छ।

यस्तै, स्वास्थ्य कार्यालय बझाङमा कार्यरत क्षयरोग तथा कुष्ठरोग सुपरभाइजर निरीक्षक छैठौं तह सन्जीब भण्डारीलाई दरबन्दी रिक्त नभएको स्वास्थ्य कार्यालय डडेल्धुरा सरुवा गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालय बाजुराबाट अनमी पार्वती शाहलाई अहेवको दरबन्दीमा टीकापुर अस्पतालमा सरुवा गरिएको छ।

मन्त्रालयले मेडिकल ल्याब टेक्नोलोजी समूह पाँचौं तहका हिक्मत सिंह बडाललाई समायोजन पश्चात् पदस्थापना नै नगरी दरबन्दी नै नभएको स्वास्थ्य कार्यालय बैतडी पठाइएको छ। यस्तै सरुवाको न्यूनतम अवधि पूरा नहुँदै वरिष्ठ कविराज निरीक्षक गजेन्द्रप्रसाद कुशवाहालाई प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीबाट आयुर्वेद स्वास्थ्य केन्द्र अछाम पठाइएको छ।

मन्त्रालयले प्रादेशिक आयुर्वेद चिकित्सालयमा भने जिल्ला आयुर्वेद  स्वास्थ्य केन्द्र अछाममा कार्यरत वरिष्ठ कविराज निरीक्षक दिपकराज पन्तको सरुवा गरेको छ।

सामाजिक विकास मन्त्रालयले यो पटकको सरुवामा कर्मचारीको अवधि नपुग्दै गरेको पाइएको छ भने केहीलाई कार्यालयको महत्त्वपूर्ण जिम्मेवारी दिने मनसायले दरबन्दी नै नभएको स्थानमा पठाउने र ल्याउने काम गरिएको कर्मचारी स्रोतको दाबी छ।

सामाजिक विकास मन्त्रालयले भने कर्मचारी सरुवामा त्रुटिवस  दरबन्दी नभएको कार्यालयमा केही कर्मचारीको सरुवा भएको नोटिसमा आएको जनाएको छ।मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले केही कर्मचारीको निवेदनसमेत आएकाले मन्त्रालयले त्रुटि सच्याउने बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस