फागुन २१ को निर्वाचनमा सुरक्षाको प्रत्याभूति आवश्यक: डा.रावल
धनगढी– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले आसन्न निर्वाचनका लागि सरकारले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीले शनिबार धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उनले वर्तमान अन्तरिम सरकारले निर्वाचनको सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने बताए।
डा. रावलले भने, “सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ। तर, जेलबाट भागेका कैदीबन्दी अझै बाहिर छन् र राज्यको नियन्त्रणमा हुनुपर्ने थुप्रै बन्दुक तथा गोली नियन्त्रणमा छैन। अहिलेको विषम परिस्थितिमा राष्ट्रलाई बचाउन, जनतालाई कष्टबाट जोगाउन र राष्ट्रिय अखण्डताको रक्षा गर्न आवश्यक कदम चालिनु पर्छ।”
उनले मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए। साथै, नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेशका लागि पूर्ण रूपमा तयार रहेको समेत बताए। डा. रावलले आगामी फागुन २१ को निर्वाचनमा पार्टीले नेपाली जनताको समर्थन लिएर बहुमत प्राप्त गरी राज्य सञ्चालनमा आउने विश्वास व्यक्त गरे।
नेपाली कम्युनिष्ट पार्टीले यही मङ्सिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा आयोजना गर्ने भएको छ। त्यसको तयारीका लागि शनिबार छलफल कार्यक्रम आयोजना गरिएको थियो।