सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली, कञ्चनपुर र दार्चुलामा अदालतका सजाय पाएका फरार आरोपी पक्राउ

२०८२ मंसिर ३, ०१:२० खबर संवाददाता

धनगढी: जिल्ला अदालतका फैसलाहरू कार्यान्वयन गर्ने क्रममा प्रहरीले कैलाली, कञ्चनपुर र दार्चुलाका फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ। विभिन्न मितिमा जारी भएका अदालतका आदेशअनुसार कैद सजाय तथा जरिवाना तोकिएका व्यक्तिहरू पक्राउ परेका हुन्।

कैलालीमा अदालतको फैसलापछि फरार रहेका छ जना पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका सन्दिप चौधरी, लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएका तपेन्द्र बोहरा र भवितव्य ज्यान मुद्दामा ६ महिना कैद तथा ५ सय रुपैयाँ जरिवाना सुनाइएका सेते भण्डारी पक्राउ परेका हुन्। 
त्यस्तै लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–८ बस्ने २० वर्षीय महेश राना, किर्ते मुद्दामा ११ महिना ६ दिन कैद र ५० रुपैयाँ जरिवाना तोकिएका कैलारी गाउँपालिका–७ का ३७ वर्षीय सतुराम चौधरी तथा लागूऔषध मुद्दामा ५ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका–८ की ४५ वर्षीया गौरव श्रेष्ठ पनि पक्राउ परेका छन्।

यसैगरी, कञ्चनपुरमा अदालतको मिति २०८१।०३।१७ को फैसलाअनुसार लागूऔषध मुद्दामा एक वर्ष कैद सजाय तोकिएका शुक्लाफाँटा नगरपालिका–११ का २८ वर्षीय गणेश अवस्थीलाई प्रहरीले मंगलबार आफ्नै घरबाट नियन्त्रणमा लिएको छ।

यता, दार्चुलामा पनि अदालतको फैसला कार्यान्वयनका क्रममा दुई फरार प्रतिवादी पक्राउ परेका छन्। अभद्र व्यवहार मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका महाकाली नगरपालिका–७ धाप निवासी २५ वर्षीय सुरेश राम कोली तथा विदेशी विनिमय अपचलन मुद्दामा ७७ हजार ३४८ रूपैयाँ ७० पैसा जरिवाना तोकिएका दुँहुँ गाउँपालिका–१ पिपलचौरीका ३२ वर्षीय तेजबहादुर बम पक्राउ परेका हुन्।

प्रहरीले सबै पक्राउ परेकालाई कानुनी प्रक्रियाअनुसार अदालतमा बुझाउने कार्य अघि बढाइएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस