त्रिभुवन त्रिशूली माविका एक हजार छ सय पचास विद्यार्थी मध्ये सय मात्रै सम्पर्कमा
काठमाडौँ: त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण विद्यालय परिसर बगरमा परिणत भएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत १ हजार ६ सय ५० विद्यार्थीमध्ये हालसम्म करिब एक सय जना विद्यार्थी मात्रै सम्पर्कमा आएका छन्। बाँकी विद्यार्थीको अवस्थाबारे भने यकिन हुन सकेको छैन।
दवाडीका अनुसार बिहान प्रार्थनाको समयमा बाढी आएको सूचना पाएपछि विद्यालयमा रहेका विद्यार्थीलाई तत्काल बाहिर निकालेर सुरक्षित स्थानतर्फ लगिएको थियो। विद्यालयबाट आफू र एक कर्मचारी अन्तिममा बाहिरिएको उनले बताए।
‘सूचना पाएपछि विद्यालयमा देखेका विद्यार्थीलाई बाहिर निकालेर सुरक्षित ठाउँमा लगेँ। विद्यालयबाट म र एकजना कर्मचारी अन्तिममा निस्किएका हौँ। मसँग अहिले सय जना मात्रै विद्यार्थी छन्। उनीहरूलाई सुरक्षित ठाउँमा लैजाँदैछु। अरूको बारेमा थाहा छैन,’ उनले भने।
बाढीको सूचना आउँदा केही विद्यार्थी विद्यालय परिसरमा आइसकेका थिए भने कतिपय विद्यार्थी विद्यालयतर्फ आउँदै गरेको हुनसक्ने र केही घरमै रहेको हुनसक्ने अनुमान गरिएको छ। उनीहरूको अवस्थाबारे सुरक्षा निकायबाट समेत स्पष्ट जानकारी प्राप्त हुन नसकेको विद्यालयले जनाएको छ।
बुधबार बिहान त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोटका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले त्रिशूली बजार क्षेत्रसमेत प्रभावित बनाएको छ।
नुवाकोटको पुरानो शैक्षिक संस्थामध्ये एक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको स्थापना २००० सालमा भएको हो। कुनै समय धादिङलगायत आसपासका जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने उक्त विद्यालय जिल्लाको महत्वपूर्ण शैक्षिक धरोहरका रूपमा परिचित छ।