'धनगढीमा साइकल लेन खाली गर्दा उद्योग वाणिज्य संघको अवरोध'
धनगढीः धनगढी उपमहानरपालिकाले ६ लेन सडक र ट्राफिक चौराहादेखि कालाली पुलसम्मको सडक र सहीदगेट-क्याम्पस चोक सडकमा साइकल लेन निर्माण गरेको छ। तर ६ लेन सडकबाहेक अन्यत्र साइकल लेनमै सवारी साधन पार्किङ गरेको देख्न सकिन्छ।
हिजो शनिवार धनगढी उपमहानगरपालिकाले साइकल र्याली आयोजना गरेको थियो। उक्त र्यालीका केही सहभागीले साइकल लेनमा पार्किङ हुने गरेकाले साइकल चलाउनेलाई समस्या हुने गरेको गुनासो गरेका छन्। धनगढीमा साइकल चलाउन पूर्वाधार बने पनि प्रयोग गर्न समस्या भएको साइकल यात्रीहरुको गुनासो छ।
धनगढीको मुख्य सडकको साइकल लेनमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन पार्किङ गरेको देखिन्छ। केही ठाउँमा भने पैदलयात्रीका लागि निर्माण भएको पैदलमार्गमा समेत सवारी साधन राख्ने, पसलको सामान र निर्माण सामग्री राख्ने गरिएको छ।
सर्वसाधारणले साइकल लेन र फुटपाथ प्रयोग गर्न समस्या हुने गरेको गुनासो गरे पनि साइकल लेन र फुटपाथमा सवारी सधान रोक्ने क्रम रोकिएको छैन। कैलाली जिल्ला ट्राफिक प्रहरीले साइकल लेन खाली गर्ने अभियान चलाउन खोज्दा स्थानीय व्यवसायी र कैलाली उद्योग वाणिज्य संघले काम गर्न अवरोध गरेको ट्राफिक प्रहरीको भनाइ छ।
स्थानीय व्यापारीहरूको आग्रहमा कैलाली उद्योग वाणिज्य संघले साइकल लेन खाली गराउने ट्राफिक प्रहरीको अभियानलाई बन्द गरेको पाइएको छ। कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चक्र बहादुर देउवाले साइकल लेन खाली गर्ने अभियान चलाउँदा उद्योग वाणिज्य संघले विरोध गरेको बताए।
उनले आफू सरुवा भएर आउनासाथ साइकल लेन खाली गराउने अभियान चलाएको र विरोध आएपछि पछि हटेको बताए। 'हामीले साइकल लेन खाली गर्ने प्रयास गरेका हौँ। एक दुई दिन लेन खाली पनि गराएको हो। साइकल लेन खाली गराउँदा बिरोध भएपछि हामीले खाली गराउन छोडेको हो,' ट्राफिक प्रहरी निरीक्षक देउवाले भने। ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ र नगरपालिकाको प्रतिनिधि बसेर छलफल हुँदा अहिलेलाई साइकल लेनका सवारी साधन हटाउन बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख देउवाले बताए।
यता धनगढी उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले छलफलमा सहभागी भएको कुरा आफ्नो जानकारीमा नभएको बताए। उनले साइकल लेन बारे भएको छलफलमा आफू नगएको बताएका छन्। कुनै प्रतिनिधि गएको भए बुझ्ने उनले बताएका छन्।
ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी यातायात व्यवस्थापन भए पनि धनगढीको मुख्य सडकमा गरिने अनधिकृत पार्किङ हटाउन ट्राफिक प्रहरीले ध्यान नदिएको सर्वासाधारणले बताएका छन्। धनगढीमा नियमित साइकल चलाउनेहरूले सबै ठाउको साइकल लेनमा निर्धक्क भएर साइकल चलाउन पाउनुपर्ने बताएका छन्।
ट्राफिक प्रहरीले स्थानीय व्यापारी र उद्योग वाणिज्य संघको दबाब थेग्न नसकेर नगरपालिकालाई देखार जिम्मेवारीबाट उम्किने प्रयास गरेकोले साइकल लेन पार्किङ स्थल बनेको एक जना साइकल यात्रीले टिप्पणी गरे। उनले ट्राफिक प्रहरीले व्यापारीलाई देखार पन्छिन नमिल्ने तर्क गरेका छन्।
कैलाली उद्योग वाणिज्य संघको अगुवाईमै साइकल लेन खाली गर्ने अभियान स्थगित भएको ट्राफिक प्रहरीको भनाइ छ। कैलाली उद्योग वाणिज्य संघले भने ट्राफिक प्रहरीलाई थोरै व्यवहारिक हुन आग्रह गरिएको जनाएको छ।
संघका अध्यक्ष पुस्करराज ओझाले स्थानीय व्यवासायीको समस्या ध्यानमा राखेर साइकल लेनको सन्दर्भमा थोरै व्यवहारिक हुन आग्रह गरिएको बताए। 'स्थानीय व्यवसायीको गुनासो आएपछि हामीले ट्राफिक प्रहरीलाई व्यवहारिक भइदिन आग्रह गरेका हौँ। थोरे समयका लागि सवारी पार्किङ गर्न दिनुपर्यो भनेका हौँ,' उनले भने, 'पसलमा आउने ग्राहकको सवारी साधन रोक्न दिनु पर्यो भनेको हौँ। ट्राफिक प्रहरी, नगरपालिकाका प्रतिनिधि र व्यावसायीबिच उद्योग वाणिज्य संघमै छलफल भएको हो।'
पैदलयात्री र साइकल यात्रीलाई समस्या हुने गरी साइकल लेन र फुटपाथमा हुने पार्किङ हटाउन ट्राफिक प्रहरीले काम गर्नुपर्ने बताइएको छ। ट्राफिक व्यवस्थापनको प्रमुख जिम्मेवारीबाट ट्राफिक प्रहरीले पन्छिन नमिल्ने साइकल यात्रीहरुको भनाइ छ।