बैतडीका ट्रक चालक हत्या प्रकरणमा चार जनालाई जन्मकैद
बैतडीः बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालतका श्रेस्तेदार विष्णुराज पन्तका अनुसार २०८१ असार १ गते गरिएको हत्यामा संलग्न शिक्षिकासमेत रहेकी मृतककी बुहारी भागरथी बिष्ट, पाटन–६ का ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैद सजाय सुनाइएको हो। उनीहरूलाई २५ वर्ष कैद सजायको फैसाल भएको श्रेस्तेदार पन्तले दिनेशखबरसँग बताए।
सोही घटनामा संलग्न १८ वर्षमुनिका एक किशोरलाई भने १६ वर्षको काराबासको सजाय तोकिएको पन्तले बताए।
भागरथी बिष्टको घरमै २०८१ असार १ गते हत्याको घटना घटाइएको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत घङाल खोलामा शव फालिएको थियो। असार ३ गते चालक बिरभानको शव फेला परेपछि घटना बाहिरिएको थियो।
२०८१ असार २३ गते थुनछेक बहस सम्पन्न हुँदा हत्याका पाँचै अभियुक्तलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो। शुक्रवार फैसाल आएको र पूर्णपाठ आउन केही समय लाग्ने श्रेस्तेदार पन्तले बताए।