सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा शान्ति पुनस्र्थापना गृहले २४६ महिला, किशोरी र बालबालिकाको उद्धार

२०८२ कार्तिक २४, ०४:२२ खबर संवाददाता

कञ्चनपुर: शान्ति पुनस्र्थापना गृहले कञ्चनपुरका विभिन्न क्षेत्रबाट गत आर्थिक वर्ष २०८१–८२ मा २ सय ४६ महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ।

शान्ति पुनस्र्थापना गृह कञ्चनपुर शाखाकी पर्यवेक्षक मनिसा न्यौपानेका अनुसार, गड्चौकी नाकाबाट १७५ महिला तथा बालबालिका, उक्त नाकाबाट भारत पसेका तीन महिला र लैङ्गिक हिंसामा परेका एक महिलालाई उद्धार गरिएको थियो। बह्मदेव क्षेत्रबाट १८ जना, दोधारा चाँदनीबाट २८ जना, बेलौरीबाट १४ जना र बेलडाँडी सीमानाबाट भारत प्रवेश गरिरहेका सात जना महिला तथा बालबालिकालाई पनि उद्धार गरिएको थियो।

संस्थाले महिला तथा बालबालिकालाई ललाइफकाई भारतमा बेचबिखन गर्ने विरुद्ध कानूनी कारबाही अगाडि बढाएको जनाएको छ। गत आर्थिक वर्षमा आठ जनामाथि मानव बेचबिखन, ओसारपसार र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ।

संस्थाले महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा वार्षिक सामाजिक लेखा परीक्षण सार्वजनिक गर्दै, संस्थापक अध्यक्ष शान्ता सापकोटाले गत आर्थिक वर्षमा ४ हजार २५५ जनालाई निःशुल्क परामर्श सेवा प्रदान गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयले पनि मानव बेचबिखन रोकथाममा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले महिला हिंसा न्यूनीकरण, विवाद समाधान र सामाजिक सचेतनामा संस्थाको सक्रियता रहेको भन्दै प्रहरी र संस्थाबीचको सहकार्य रहने बताए।

संस्थाले सहयोग गरेको भन्दै भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशी, बेलौरी उपप्रमुख जोगराम चौधरी, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिसचन्द्र राना लगायतलाई सम्मान गरेको छ।

शान्ति पुनस्र्थापना गृहले जिल्लाका विभिन्न पाँच स्थानमा सूचना परामर्श केन्द्र स्थापना गरी बेचबिखनमा परेका महिला र बालबालिकाको उद्धार गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस