सुदूर नेपाललाई विश्वसँग जोड्दै

“साना क्रिकेटर, ठूला सपना” : धनगढीमा सुरु हुँदैछ ६ कक्षा मुनिको ‘ड्रिमर्स कप’ टी–१० प्रतियोगिता

२०८२ कार्तिक २३, ०२:२३ जयन्त सिंह भाट

धनगढीः सुदूरपश्चिमको धनगढीमा साना उमेरका विद्यार्थीहरूका लागि आयोजना हुने अन्तर विद्यालय अन्डर–६ क्लास मुनिको क्रिकेट प्रतियोगिता ड्रिमर्स कपको घोषणा गरिएको छ।

क्रिकेटको सहर धनगढीको जगसँग जोडिएको गो ड्रीमर्स प्रा.लि ले  ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नाराका साथ ग्रासरुट लेबलमा खेलिरहेका साना नेपाली क्रिकेटरहरूको भविष्य उज्यालो बनाउने अभियान स्वरूप यो प्रतियोगिताको शनिवार घोषणा गरेको हो।
आयोजकका अनुसार यो प्रतियोगिताले विद्यालय तहका विद्यार्थीहरूमा खेल प्रतिको रुचि र प्रतिस्पर्धात्मक अनुशासित भावना बढाउने उद्देश्य राखेको छ। 
कक्षा ६ वा सोभन्दा मुनिका बालबालिकाहरूलाई लक्षित गरिएको यो प्रतियोगिता कार्तिक २५ गतेदेखि धनगढी–३ स्थित धनगढी क्रिकेट एकेडेमीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका संयोजक सन्दिप भट्टले जानकारी दिए । 

यो प्रतियोगिता १०/१० ओभरको क्रिकेट लिग टी–१० फरम्याटमा खेलाइनेछ । लिगमा एउटा टिमले चार ओटा म्याच खेल्ने मौका पाउने छ ।

विजेता टोलीलाई नगद  २२ हजार २ सय २२ रुपैया सहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। उपविजेता लाई नगद  ११ हजार १ सय ११ सहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ।

त्यसै गरी, व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कारहरू प्रदान गरिनेछन् । प्लेयर अफ द सिरिजले साइकल, उत्कृष्ट ब्याट्सम्यान ले क्रिकेट ब्याट, उत्कृष्ट बलर ले स्पोट्र्स सुज, प्लेयर अफ द म्याचले ट्रफी र इमर्जिङ प्लेयरले डीसीएमा छात्रवृत्ति सहित क्रिकेट किट सेट प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी विद्यालयहरूले केवल कक्षा ६ र सोभन्दा मुनिका विद्यार्थीहरू मात्र खेलाएको हुनुपर्ने व्यवस्था गरिएको छ । यदि कुनै विद्यालयबाट सो भन्दा माथिका विद्यार्थी खेलाएको प्रमाणित भएमा सो विद्यालयलाई तत्कालै डिस–क्वालिफाइ गरिने र आगामी दुई वर्षसम्म आयोजकले गर्ने कुनै पनि विद्यालय स्तरीय प्रतियोगितामा सहभागी नगराउने र नियम उल्लङ्घन गर्ने विद्यालयले शुल्कको दोब्बर जरिवाना तिर्नुपर्ने  आयोजकले जनाएको छ । 

सहभागी २२ विद्यालयहरू मध्ये ग्रुप ए मा ऐश्वर्य विद्या निकेतन, ग्लिी एकेडेमी, सत्यवती एकेडेमी, विसडम एकेडेमी र राईजिङ स्टार रहेका छन् । ग्रुप बि मा स्वर्णिम शिक्षा, एरिस्टो बोर्डिङ स्कुल, सिसिएस, विद्याभुषण र ज्योति बोर्डिङ स्कुल रहेका छन् । 

यस्तै, ग्रुप सि मा इमरल्याण्ड एकेडेमी, धनगढी प्रज्ञा सदन, सिद्धार्थ विद्या मन्दिर, बादसल्या विद्या निकेतन, एक्सीस विद्याआश्रम र चैतन्य पाठशाला रहेका छन् भने ग्रुप डी मा दुन एकेडेमी, वइस्टर्न क्रिस्टल एकेडेमी, होलील्याण्ड, डिस्कोभरी, अपि विद्या निकेतन र त्रिभुवन मावि रहेका छन् । 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस