सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका ९ पालिकाले नि:शुल्क शववाहन सेवा दिँदै

२०८२ कार्तिक १६, ०३:५४ नारायण अवस्थी

धनगढी: कैलाली र कञ्चनपुरका ९ पालिकाले नि:शुल्क शववाहन सेवा दिएका छन्। कैलालीका पाँच तथा कञ्चनपुरका चार पालिकाले नि:शुल्क शववाहन दिँदै आएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका तथा बर्दगोरिया गाउँपालिकाले नि:शुल्क शववाहन सेवा दिएका छन्। यी पाँचै पालिकाले मृतकको अन्तिम संस्कार गर्न सहज होस् भनेर नि:शुल्क शववाहन सेवा सञ्चालन गरेको जनाएका छन्।

धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा नि:शुल्क सेवा दिँदै आएको छ। आर्थिक कारण तथा घाटमा मृत शरीर लैजान सवारी साधन नपाउने समस्या कसैले पनि भोग्नु नपरोस् भनेर नि:शुल्क शववाहन सेवा सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यस्तै, कैलालीको गोदावरी नगरपालिकाले दुई वर्ष अगाडिबाट नि:शुल्क शववाहन सेवा सुरू गरेको हो। नगर प्रवक्ता गोपालदत्त भट्टले नगरवासीलाई आफन्तको अन्तिम संस्कार गर्न सहज होस् भनेर नि:शुल्क शववाहन सेवा सुरू गरिएको जनाए।
कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले तथा बर्दगोरिया गाउँपालिकाले पनि स्थानीयलाई आफन्तको अन्तिम संस्कार गर्न सहज होस् भनेर शववाहन सेवा दिन थालेको बताएका छन्। यी स्थानीय तहले विभिन्न मितिबाट सेवा सञ्चालन गरेका हुन्।

कञ्चनपुरमा भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकाले नि:शुल्क शववाहन सेवा सुरू गरेका छन्। बेदकोट नगरपालिकामा अघिल्लो कार्यकालबाटै शववाहन सञ्चालनमा रहेको नगर प्रमुख भोजराज बोहराले बताए। उनले नगरपालिकाको नि:शुल्क शववाहन सेवाबाट स्थानीयलाई आफन्तको अन्तिम संस्कार गर्न सहज भएको बताए।

कृष्णपुर नगरपालिकाले गत साउनदेखि निःशुल्क शववाहन सेवा सञ्चालन गरेको नगर प्रमुख हेमराज ओझाले बताए। उनले स्थानीयले अन्तिम संस्कार गर्न सवारी साधन नपाउने समस्या समाधान गर्न नि:शुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको बताए।
यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाले भने २०७९ बाट महाप्रस्थानयान सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख तोयनाथ शर्माले बताए। महाप्रस्थानयानको सञ्चालन हुँदा अन्तिम संस्कार गर्न गाडी खोज्नुपर्ने झण्झट हटेको उनले बताए।

कैलाली र कञ्चनपुरका ९ पालिकाले नागरिकलाई सहज होस् भनेर नि:शुल्क शववाहन सेवा दिन थालेको बताएका छन्। अन्य पालिकाले समेत यो सेवा दिने तयारी थालिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा शववाहन खरिद गर्न बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमै नि:शुल्क शववाहन सेवा सञ्चालनमा ल्याइने नगर प्रमुख रणबहादुर महराले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस