सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोक स्टारको उत्कृष्ट १६ मा सुदूरपश्चिमका दुई प्रतियोगी

२०७६ साउन १८, ११:१० खबर संवाददाता

नेपाल लोक स्टारको उत्कृष्ट १६ मा सुदूरपश्चिमका दुई जना प्रतियोगी परेका छन्। शुक्रवार भएको १० औँ श्रृंखलामा बाजुराका पविन्द्र सुनार र प्रभुराज पाण्डेयले उत्कृष्ट १६ मा स्थान सुरक्षित बनाउका हुन्। पाण्डेय काठमाडौँ अडिसनबाट प्रतियोगितामा सहभागी भएका हुन् भने सुनारले धनगढीमै अडिसन दिएका थिए। सुनार निर्णायकको पहिलो रोजाईमा पर्दै उत्कृष्ट १६ मा परेका हुन्। उनी त्यसअघि पनि गोल्डेन स्टार पाउँदै उत्कृष्ट २० मा पर्न सफल भएका थिए।

कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए। उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए। लोकगीत र संगीतप्रति पहिलेदेखि नै रुचि राख्दै आएका पाण्डेय भने २०७० सालदेखि संगीतमा सक्रिय छन्। काठमाडौँ, दरबारमार्गस्थित ‘किङ प्यालेस’ मा दोहोरी गाउँदै आएका उनले अहिलेसम्म पाँच वटा गीत बजारमा ल्याईसकेका छन्। 

साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जज अडिसन हुँदै ‘नेपाल लोक स्टार’ले मेगा अडिसनको यात्रा गरेको थियो। त्यसपछिको हप्ता नवौं श्रृंखालाबाट पाँच जना बाहिरिएका थिए भने १० औँ श्रंखलामा थप चार जना बाहिरिएपछि अव १६ जना मात्रै प्रतियोगी बाँकी रहेका छन्। अहिले ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकलाई निर्णयको अधिकार दिईएको छ। देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्।
 

कमेन्ट लोड गर्नुस