कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कात्तिक दोस्रो साताबाट धान खरिद गर्ने
धनगढी: कैलालीमा खाद्य तथा व्यापार कम्पनीले कात्तिक दोस्रो सातादेखि धान खरिद गर्ने भएको छ। कम्पनीका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख दिपक थापाले तिहार लगत्तै किसानबाट धान खरिद गर्ने बताएका हुन्।
सरकारले यो वर्ष साउन २६ गते नै धानको न्यूनतम समर्थन मूल्य तोकेको हो। मोटा धानको प्रति क्विन्टल तीन हजार ४६८ रुपैयाँ ८१ पैसा तोकिएको छ भने मध्यम धानको प्रति क्विन्टल तीन हजार ६ सय ६३ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ।
सरकारले साउनमै धानको मूल्य निर्धारण गरे पनि किसानहरूले भने स्थानीय गल्ला व्यापारी र मिलहरूसँग सस्तोमा धान बिक्री गर्नुपरेको छ। कैलालीका किसानबाट गल्ला व्यापारी तथा मिलहरूले दुई हजार ४ सय रुपैयाँ प्रति क्विन्टल धान खरिद गरिरहेको किसानहरूको गुनासो छ।
किसानहरूले सस्तोमा धान बिक्री गर्नुपरेको गुनासो आफूहरूसँग समेत गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीका प्रमुख दिपक थापाले बताए। उनले यो पटक कैलालीबाट ५५ हजार क्विन्टल धान खरिद गर्ने योजना रहेको बताए। "हामीले कैलालीबाट यो वर्ष ५५ हजार क्विन्टल धान खरिद गर्ने प्रस्ताव प्रधान कार्यालयमा पेश गरेका छौँ। तिहार लगत्तै जिल्लाको विभिन्न ठाउँबाट धान खरिद गर्छौं," थापाले दिनेशखबरसँग भने।
गत वर्ष ३४ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीबाट गत वर्ष ३४ हजार ५०१ क्विन्टल धान खरिद गरेको थियो। गत वर्ष ५५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएपनि किसानले गल्ला व्यापारी तथा मिलसँग धान बिक्री गरिसकेका कारण निर्धारित कोटाअनुसार धान खरिद गर्न नसकिएको कम्पनीका सुदूरपश्चिम कार्यालय प्रमुख थापाले बताए। "गत वर्ष ५५ हजार क्विन्टल धान खरिद गर्ने प्रस्ताव स्वीकृत भएको थियो। तर हामीले ३४ हजार ५०१ क्विन्टल मात्रै खरिद गर्न सक्यौँ," उनले भने, "किसानहरूले पहिलै नै स्थानीय गल्ला व्यापारी र मिलहरूलाई धान बिक्री गरेकाले लक्ष्यनुसार धान खरिद गर्न नसकिएको हो।"
कैलालीको कुन-कुन ठाउँमा खुल्छ खरिद डिपो?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नु अगाडि जिल्लाका विभिन्न स्थानमा खरिद डिपो खुल्ने जनाएको छ। धान खरिदका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कृषि ज्ञान केन्द्र तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख सम्मीलित "खरिद समिति" गठन हुने गर्छ। सो समितिले नै जिल्लाका कुन-कुन स्थानमा खरिद डिपो राख्ने निर्क्यौल गर्छ। खरिद डिपो राख्ने स्थान निश्चित भएपछि तिहार लगत्तै किसानबाट धान खरिद थाल्ने प्रमुख थापाले बताए। उनले धनगढी उपमहानगरपालिकाको मोहनपुर, गौरीगङ्गा, भजनी, जोशीपुर, टीकापुर सत्ती र कञ्चनपुरको पुनर्वास क्षेत्रमा खरिद डिपो राखिने बताए।
कम्पनीका सुदूरपश्चिम प्रमुख थापाले जिल्ला प्रशासन कार्यालयबाट धानको न्यूनतम समर्थन मूल्य बारे सूचना सबै स्थानीय तहमा पठाइसकेको बताए। उनले स्थानीय तहको सिफारिस तथा नागरिकताको प्रमाणपत्रका आधारमा एक जना किसानबाट बढीमा ५० क्विन्टल धान खरिद गरिने बताए।
कस्तो धान सजिलै खरिद हुन्छ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख दिपक थापाले किसानले अझै धान भित्र्याउन बाँकी रहेकाले खरिद डिपो खोल्न ढिलाइ भएको बताए। उनले तिहारसम्म किसानले धान भित्र्याउने, चुट्ने, सुकाउने र छान्ने काम सक्ने भएकाले मापदण्डअनुसारको धान खरिद गर्न सहज हुने थापाले बताए। राम्रोसँग पाकेको धान, चिस्यानको मात्रा १८ प्रतिशत भन्दा बढी नभएको, छानेको र राम्रोसँग सुकाइएको धान मात्रै कम्पनीले खरिद गर्ने थापाले बताए। मापदण्ड पुग्ने हिसाबले धान भित्र्याउन र भण्डार गर्न आग्रह गरिएको छ। यसका साथै यो वर्षबाट बैङ्किङ प्रणालीबाट धानको भुक्तानी हुने भएकाले किसानहरूलाई नजिकको बैँकमा खाता खोल्न आग्रह गरिएको छ।