कञ्चनपुरमा दुई लाख ७४ हजारको भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा साढे दुई लाख बढिको भन्सार छलीको सामान बरामद गरिएको छ।
बुधबार जिल्लाको विभिन्न स्थान भिमदत्त नगरपालिका–४ बसपार्क, गोबरीया र ऐलानी-७ हल्दुखाल क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरिएका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको ती सामानको अनुमानित मूल्य करिब दुई लाख ७४ हजार चार सय बराबर रहेको बताइएको छ।
बरामद सामग्रीमा विभिन्न किसिमका कपडा, किराना सामान र मोटरसाइकल १ थान समेत रहेका छन्। प्रहरीले उक्त सामानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।