१६२ थान लागु औषध सहित कञ्चनपुरबाट २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ठुलो मात्रामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकाबाट लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१० अन्तर्गत व्यारेल जाँचचौकीमा शंका लागी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुले जनाएको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८, जानकी टोलका आशिष नेपाली र सोही ठाउँका अर्जुन दमाई रहेका छन्। उनीहरूको साथबाट ७२ थान ब्युप्रेनोर्फिन हाइड्रोक्लोराइड र ९० थान प्रोमेथाजिन हाइड्रोक्लोराइड गरी जम्मा १६२ थान सुई लाग्ने औषधि (एम्पुल) बरामद गरिएको छ, जुन लागूऔषधको सूचीमा पर्ने प्रतिबन्धित औषधिहरू हुन्।
दुबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।