शेयर बजार लगातार तेस्राे दिन घट्याे
काठमाण्डाै: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५५ अङ्कले घटेर २ हजार ७ सय १९ दशमलव ७७ विन्दुमा झरेको छ। नेप्से हिजो १५ र अस्ति १९ अङ्कले घटेको थियो।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ। आज १ सय ६५ वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ भने एउटाको घटबढ भएन।
आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ३ दशमलव ८३ प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७२ करोडको कारोबार भएकोमा ३ सय १७ वटा कम्पनीका १ करोड २७ लाख कित्ता शेयर ५ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ।