सरकारले निजी विद्यालयलाई नाफा नखाऊ भन्न मिल्दैन: सहप्राध्यापक साउँद
धनगढी: सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पसका अङ्ग्रेजी विषयका सहप्राध्यापक डाक्टर मोहन सिंह साउँदले निजी विद्यालय गैरनाफामूलक बनाउनुपर्ने सरकारी प्रस्तावप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
उनले फेसबुक पोस्टमार्फत भनेका छन्, 'विद्यालय गैरनाफामूलक गर्ने कुरा नयाँ आउने भनिएको शिक्षा विधेयकप्रति असन्तुष्टि देखाउँदै अहिले निजी विद्यालयहरू आन्दोलनमा छन्। निजी भनेकै नाफाको लागि हो। संविधानले विद्यालय तहको शिक्षा निःशुल्क भने पनि त्यसलाई कार्यान्वयन गर्न नेता, कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्दछ। तर, संविधान कार्यान्वयन गराउनेहरूले नै आफ्ना सन्तानलाई निजीमा पढाउने प्रवृत्ति कायमै छ।'
सहप्राध्यापक साउँदले निजी विद्यालयलाई लक्षित गरेर मात्र आन्दोलन गर्नुभन्दा राज्यद्वारा सञ्चालित विद्यालयमा लगानी बढाएर गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिएका छन्। 'पहिला भटाभट निजी विद्यालय खोल्न दिने अनि अहिले आएर नाफा नखाऊ भन्ने? विश्वमा कुन निजी संस्था गैरनाफामूलक छन्? राजनीति समाजसेवाका लागि गरिँदैन भने निजी संस्थाहरू किन गैरनाफामूलक बनाइने?' भन्ने प्रश्न उनले उठाएका छन्।
उनले अझै भनेका छन्, 'सक्ने भए सम्पूर्ण निजी विद्यालय र अस्पतालहरू बन्द गरेर, राज्यले नै गुणस्तरीय शिक्षा र सेवा सुविधा दिनेगरी सञ्चालन गरेर देखाऊ। तर, शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा नै पर्दैन।' सरकारी विद्यालयहरूको गुणस्तरमा सुधार नगरी निजीलाई मात्र नियन्त्रण गर्ने प्रयासले उल्टो असर गर्ने दाबी गर्दै उनले थपे, 'नाफा नै नलिने भए को नै सञ्चालक रातदिन विद्यालयमा खटिन्छ? यसरी गुणस्तर झन् घट्ने होइन र? त्यसैले निजीलाई घाँटी च्याप्ने भन्दा राज्यले आफ्ना विद्यालयमा लगानी बढाएर, शिक्षकलाई प्रोत्साहित गरेर शिक्षणलाई सबैभन्दा सम्मानित पेशा बनाउनुपर्छ।'
उनले शिक्षा विधेयकमा सरकारले प्रस्ताव गरेको प्रावधानलाई व्यङ्ग्य गर्दै भनेका छन् 'नाच्न नजान्ने आँगन टेढो।'
सहप्राध्यापक साउँद हाल सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत छन्।