सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा रामचन्द्र नेपाल नियुक्त
धनगढी: सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले उनलाई कुलपतिमा नियुक्त गरेका हुन्।
यस्तै, प्रतिष्ठानको उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल र सदस्य सचिवमा कैलालीका सुरत रावत नियुक्त भएका छन्।
प्रतिष्ठानका सदस्यमा डोटीकी कृष्णा सिराडी र बझाङका विष्णुभक्त खैर नियुक्त भएका छन्। सिफारिस समितिको निर्णयका आधारमा मुख्यमन्त्री शाहले उक्त नियुक्ति गरेका हुन्।
यसअघि प्रतिष्ठानका २२ जना प्रज्ञा सभा सदस्य नियुक्त भइसकेका छन्। नयाँ नेतृत्व चयनसँगै प्रतिष्ठानका संस्थागत गतिविधि तथा भाषा, साहित्य, कला, संस्कृति र अनुसन्धानका क्षेत्रमा हुने कामले थप गति लिने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा बौद्धिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन गरेको हो।