सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले भन्यो: नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै समाधान हुन्छ

२०८३ जेठ १९, ०७:१६ खबर संवाददाता

काठमाडौँः भारतले नेपाल–भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल ले सीमा सम्बन्धी विषय पूर्ण रूपमा नेपाल र भारतबीचको द्विपक्षीय मामिला भएकाले कुनै तेस्रो पक्षको भूमिका नहुने बताएका छन्।

नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल र भारतबीचको सीमांकन कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनको काम अझै बाँकी रहेको छ।

जयसवालले सीमांकन सम्पन्न भइसकेका केही क्षेत्रमा सीमा वारपारको कब्जा तथा दशगजा (नो म्यान्स ल्याण्ड) अतिक्रमणका घटना देखिएकाले ती क्षेत्रको संयुक्त रूपमा नक्शांकन भइरहेको बताए।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ले प्रतिनिधिसभामा सम्बोधन गर्दै नेपाल–भारत सीमा समस्याबारे कूटनीतिक पहल भइरहेको र बेलायतलाई समेत कूटनीतिक नोट पठाइएको जानकारी दिएको प्रसंगमा प्रतिक्रिया दिँदै जयसवालले सीमा विवाद पूर्णतः द्विपक्षीय विषय भएको दोहोर्‍याए।

उनले भने, “नेपाल र भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो। यस्ता मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ।”

सीमा सम्बन्धी प्राविधिक तथा कूटनीतिक विषय समाधानका लागि दुवै देशबीच प्रभावकारी द्विपक्षीय संयन्त्र सक्रिय रहेको उनको भनाइ छ।

प्रवक्ता जयसवालले नेपाल र भारतबीच जनस्तर तथा राजनीतिक दलहरूबीच पुरानो र गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै पछिल्ला उच्चस्तरीय भ्रमण र भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप सुदृढ बन्दै गएको बताए।

कमेन्ट लोड गर्नुस