सप्तरीको धर्मेश्वर अस्पतालमा दुई सुत्केरीको मृत्यु, छानबिन गर्न मन्त्रालयलाई पत्र
सप्तरी: सप्तरीको कञ्चनरूप नगरपालिका–१२ ठेलियास्थित धर्मेश्वर हस्पिटल प्रालिमा प्रसूति गराएका दुई महिलाको मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार मन्त्रालयलाई पत्र पठाउँदै दुवै महिलाको मृत्युको कारण, अस्पतालको कमीकमजोरीबाट मृत्यु भएको हो वा होइन तथा अस्पतालमा शल्यक्रियालगायत जटिल प्रकृतिका उपचार गर्न आवश्यक अनुमति, पूर्वाधार र विशेषज्ञ जनशक्ति भएनभएको विषयमा छानबिन गर्न अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हस्ताक्षर गरेको पत्रमा २०८३ असोज ४ गते र भदौ १६ गते धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको उल्लेख छ ।
पत्रअनुसार अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का अमितकुमार चौधरीकी २८ वर्षीया श्रीमती निर्मला चौधरीलाई असोज १ गते प्रसूति व्यथा लागेपछि धर्मेश्वर अस्पताल ल्याइएको थियो ।
अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराएपछि उनको अवस्था गम्भीर बनेको र थप उपचारका लागि अर्को अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा असोज ४ गते निर्मलाको मृत्यु भएको पत्रमा जनाएको छ ।
त्यसैगरी, सप्तकोशी नगरपालिका–११ का रामसागर खड्गाकी २८ वर्षीया श्रीमती पुष्पा खड्गालाई गत भदौ १६ गते प्रसूति व्यथापछि धर्मेश्वर अस्पताल लगिएको थियो ।
अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराएपछि उनको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि अर्को अस्पताल रेफर गरिएको थियो । उपचारका क्रममा सोही दिन पुष्पाको मृत्यु भएको प्रजिअ थापाले जानकारी दिए।
लगातार दुई सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा प्रसूति तथा शल्यक्रियाको सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा भएको छ कि छैन भन्ने प्रश्नसमेत उठेकाले जिल्ला प्रशासन कार्यालयले अस्पतालको सेवा, अनुमति, पूर्वाधार, विशेषज्ञता तथा उपचार प्रक्रियाबारे समेत छानबिन आवश्यक रहेको जनाएको छ ।
प्रशासनले मन्त्रालयलाई पठाएको पत्रमा दुवै घटनाको आवश्यक छानबिन गरी सुत्केरी महिलाको मृत्यु हुनुको वास्तविक कारण पत्ता लगाउन र अस्पतालको उपचार सेवासम्बन्धी आवश्यक पक्षसमेत अध्ययन गर्न अनुरोध गरेको छ ।