सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुई वर्षमा चार सय ८७ जनाले आफ्नै प्राण लिए

२०८२ भदौ १६, ०७:०६ कमल सावद

धनगढी : कैलाली प्रहरीमा गत दुई आर्थिक वर्षमा तीन हजार सात सय ५३ वटा आपराधिक घटनाहरू दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा एक हजार सात सय ३३ र गत आर्थिक वर्षमा दुई हजार २० वटा आपराधिक घटनाहरू प्रहरीमा दर्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीमा सबै भन्दा बढी सात सय ८४ वटा लागुऔषधसम्बन्धीका घटना दर्ता भएका छन्। कैलाली प्रहरीमा आर्थिक वर्ष २०८०/०८१ मा तीन सय १५ वटा लागुऔषधका घटना भएकामा गत आर्थिक वर्षमा चार सय ६९ वटा घटना दर्ता भएका छन्। कैलाली प्रहरीमा दुई आर्थिक वर्षमा संगठीत तथा आर्थिक अपराधका नौ सय २२ घटना दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयले विद्यालय स्तरमा लागुऔषधसम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालनको तयारी थालेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख नरेन्द्र चन्दले विद्यालयहरूमा शिक्षकबाट नै विद्यार्थीलाई लागुऔषध, ट्राफिक सचेतना लगायतका २४ वटा शीर्षकमा प्रशिक्षण दिने बताएका छन्। चन्दले भने, ‘हरेक स्कुलमा अभिभावकहरूलाई समेत तालिम दिन्छौ। प्रहरीले मात्र सबै ठाउँमा गएर तालिम दिन सक्दैन। शिक्षकहरूबाटै नै दिन्छौ। २४ वटा शीर्षकहरू छन्। विद्युतीय अपराधदेखि लागुऔष, ट्राफिक लगायतको विषयमा शिक्षा दिन्छौ।’

चार सय ८७ जनाले गरे आत्महत्या

कैलाली प्रहरीको प्रतिवेदन अनुसार आत्महत्या सम्बन्धीका चार सय ८७ वटा घटना दुई वर्षमा घटेका छन्। जिल्लामा विष सेवन गरेर ५५, आगो लगाएर एक, झुन्डिएर चार सय आठ, हाम फालेर तीन, पानीमा डुबेर १९ र तेजाब सेवन गरेर एक जाले आत्म हत्या गरेका छन्। कैलालीमा २ आर्थिक वर्षमा चार सय ८७ जनाले आफैले प्राण लिएका हुन्।

कैलालीमा दुई वर्षमा २६ जनाको हत्या

कैलालीमा ज्यान सम्बन्धीका मात्र चार सय ५४ घटना दुई आर्थिक वर्षमा घटेका छन्। कर्तव्य ज्यानका २६, ज्यान मार्ने उद्योगका ६५, भवितव्य ज्यानका एक सय ९५, फुट्कर ज्यानका एक सय १६, आत्महत्या दुरुसानका ४७, ज्यान सम्बन्धीका तीन र गर्भपतका २ घटना दुई आर्थिक वर्षमा कैलालीमा भएका हुन्। कैलालीमा भूगोल ठुलो र प्रहरीको जनशक्ति कम भएकाले आपराधिक गतिविधि नियन्त्रण गर्न समस्या हुँदै आएको छ। चन्दले भने, ‘कैलालीमा सबै भन्दा बढी खुल्ला सीमाना छ। नेपाल प्रहरीमा जनशक्तिको अभाव छ। छ वर्षदेखि जनशक्ति थप भएको छैन। प्रदेश प्रहरी ऐन लागु भएपछि मात्र थप गर्न भन्दैछन्। प्रहरीमा राजीनामा दिनेहरूको सङ्ख्या पनि बढ्दैछन्।’

एक सय ५६ वटा चोरी 

कैलाली जिल्लामा दुई आर्थिक वर्षमा चोरी सम्बन्धीका एक सय ५६ वटा घटना दर्ता भएका छन्। जिल्लामा डाका चोरीका आठ, नकाबधारी चोरीका आठ, साधारण चोरीका एक सय २५ र सवारी चोरीका १५ वटा घटना दुई आर्थिक वर्षमा दर्ता भएका हुन्। कैलालीमा दुई वर्षमा सङ्घठनीक अपराधका नौ सय २२ घटना दर्ता भएका छन्। जुवाका ५५, ठगीका ६६, सरकारी छाप दस्खतका एक र हातहतियार खर खजनाका १६ वटा घटना कैलाली प्रहरीमा दर्ता भएका हुन। जिल्लामा सामाजिक अपराधका घटनाहरू समेत बढ्दै गएका छन्। जिल्लामा प्रत्येक वर्ष अपराधी घटनाको सङ्ख्या बढ्दै गएको तथ्याङ्क कैलाली प्रहरीको छ।

एक सय एक किलोमिटर भारतसँग सीमाना जोडिएको कैलालीमा अपराधी गतिविधि र लागुऔषधको सेवन तथा कारोबार रोक्न सबै भन्दा चुनौती रहेको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस