सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानको दूधको रकम तत्काल भुक्तानी गर्न सिडीओ लम्सालको निर्देशन

२०८२ भदौ १६, ०३:१३ खबर संवाददाता

अत्तरियाः  विगत ३ महिनादेखि दुग्ध विकास संस्थान (डीडीसी) अत्तरियामा  तालाबन्दी हुँदा भुक्तानी रोकिएको भन्दै दुग्ध सङ्कलन गर्ने सहकारीहरूले सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएका छन्।

आइतबार किसानबाट दूध सङ्कलन गर्दै आएका सहकारी र कृषि फर्महरूले सिडिओ कृष्ण प्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा किसानहरूले २०८१ माघ देखि नै डीडीसीबाट दूधको भुक्तानी नपाउँदा किसानहरू दूधको भुक्तानी गर्न नसकिएका कारण आन्दोलन हुने अवस्था सृजना भएकाले सहजीकरण गरिदिन आग्रह गरेका छन्। 

ज्ञापन पत्रमा हाल डीडीसीले प्रशासनिक एवम् आर्थिक कक्ष बन्द भएको कारण रकम दिन नसकिएको बताएकाले त्यसका लागि सहजीकरण गरिदिन सिडिओ समक्ष आग्रह गरिएको छ। ज्ञापन पत्र बुझे लगतै बन्द रहेको डीडीसी कार्यालयमा पुगेका सिडिओ लम्सालले डीडीसी कार्यालय प्रमुख, गोदावरी नगरपालिकाका नगरप्रमुख सहित सरोकारवाला सँग छलफल गरेका थिए।

 बन्द रहेको डीडीसी कार्यालयको अगाडि सडकमै भएको छलफलका क्रममा सिडिओ लम्सालले कार्यालय प्रमुखलाई तत्काल किसानको दूधको रकम भुक्तानी गर्न निर्देशन दिए। उनले आवश्यक सुरक्षा प्रबन्ध आफूले गर्ने बताउँदै निश्चित समय तोकेर सो समय भित्र भुक्तानी दिने निर्देशन दिएका हुन।

कार्यालय प्रमुख निरञ्जन भट्टराइले सहकारी सँग छलफल गरेर भुक्तानी गर्न सकिने समय भन्न सकिने बताएका छन्।  उनले कार्यालय बन्द भएकाले पुरानो भुक्तानी रोकिएको बताउँदै केही रकम तत्काल दिन सकिने भए पनि बाकी रकम भुक्तानीका लागि सहकारी सँग छलफल गरेर भन्न सकिने बताए।

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले गोदावरीमै डीडीसीका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको भए पनि डीडीसीले धनगढी सार्न खोज्दा समस्या भएको बताए। ‘हामीले यसको दिगो व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएका छौ। डीडीसीलाई हामीले उपलब्ध गराउन सकिने जग्गाको पनि प्रतिवेदन दिएका छौ’ उनले भने, ‘डीडीसीले कुन ठाउँको जग्गा लिने भन्ने जवाफ नपठाएका कारण जग्गा उपलब्ध गराउने प्रक्रिया रोकिएको छ ।’ उनले डीडीसीको विवाद लम्बिँदा किसानको भुक्तानी रोकिएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।

उनले कार्यालय प्रमुखको धनगढी नै सार्नुपर्ने ढिपीका कारण समस्या भएको बताउँदै, डीडीसी अत्तरियाबाट नसार्ने प्रतिबद्धता गर्ने बित्तिकै सबै समस्या समाधान हुने बताए।  डीडीसी अत्तरियाको प्रशासनिक कार्यालयमा जेठ ८ गते तालाबन्दी गरिएको थियो । स्थानीयले डीडीसी धनगढी सार्न नहुने र डीडीसीलाई आवश्यक जग्गा गोदावरी क्षेत्रमै नगरपालिकाले उपलब्ध गराउनु पर्ने माग गरेका थिए। स्थानीयले तालाबन्दी गरेपछि स्थानीय सरकारले जग्गा उपलब्ध गराउनको लागि डीडीसीलाई जग्गाको विवरण सहित प्रतिवेदन बुझाए पनि त्यसको जवाफ डीडीसीले नदिँदा समस्या लम्बिएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए।

आइतबार पनि सिडिओलाई डीडीसीलाई स्थानीय तहले उपलब्ध गराउन खोजेको गोदावरी नगरपालिका–४ मा रहेको जग्गाको अवलोकन गराइएको थियो । लामो समय देखि डीडीसीको प्रशासनिक कार्यालयमा तालाबन्दी हुँदा भुक्तानीको काम ठप्प भएको छ। जसले गर्दा अहिले किसानहरू मारमा परेका छन्।
 

कमेन्ट लोड गर्नुस