सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा, स–साना नदीमा बहाव उल्लेख्य
धनगढीः अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैबिच कञ्चनपुर जिल्लाको जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा आज बिहान ७:२० बजेको जलसतहले सतर्कता तह पार गरेको छ। जलस्तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। यसैगरी, पछिल्लो तीन घण्टामा दोधारा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम पनि रहेकोले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ। कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ।