केएमसीका विद्यार्थीहरुद्वारा पुरस्कार जितेको रकम दृष्टि फाउन्डेसनलाई सहयोग
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा बिबिए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विज्ञापन प्रतियोगितामा जितेको रकम दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन्।
शुक्रवार स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसको प्रवद्र्धन गर्ने उदेश्यले विद्यार्थीहरुबिच आन्तरिक विज्ञापन प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा प्रथम भएको बिबिए शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले आज दश हजार नगद सहित खाद्यान्न लगायतका सामाग्री सहयोग गरेको विजेता समूहका विद्यार्थी सुवास बिष्टले जानकारी दिए।
सकारात्मक भावना र समाज सेवाबाट प्रेरित भएर जितेको पुरस्कार रकम दान गरेको उनले बताए। “यो क्यामसका सबै विद्यार्थीहरुको सामूहिक भावना र सामाजिक जिम्मेवारीको प्रतिबिम्ब हो“ उनले भने, “आजभोलि जितेपछि होटेलमा गएर पार्टी मनाउने प्रवृत्ति छ तर हामी सकारात्मक सन्देश दिन चाहन्छौँ“
कैलाली बहुमुखी क्याम्पसका बिबिए कार्यक्रम संयोजक उप–प्राध्यापक दिपक राज पन्तको उपस्थितिमा उनिहरुले सहयोग हस्तान्तरण गरेका हुन्। उप–प्राध्यापक पन्तले विद्यार्थीहरुको यस किसिमको सामुदायिक संलग्नताले सकारात्मकता सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। “ यो असाध्यै राम्रो काम हो“ उनले भने, “विद्यार्थीहरुका सिकाइका आयाम विभिन्न हुन्छन्, यसले ठुलो योगदान पुर्याउँछ।“ उनले भने।
विज्ञापन प्रतियोगिताको विजेता समूहमा सुवास बिष्ट, तारा पाण्डे, रोशन ओझा, साधना ढकाल, तेजेन्द्र गौतम सुनार, पवन महरा र सुशिल बिष्ट रहेका थिए।