शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा काठे भालु र हुँडार नियमित रुपमा देखिदै
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा काठे भालु र हुँडार नियमित रुपमा देखिन थालेका छन्।
निकुञ्ज कार्यालयका अनुसार गत वर्ष बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेरामा हुँडार र भालु देखिएका हुन् ।
बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेरामा देखिएका छन् कति छन् भन्ने विषयमा गणना भएको छैन। निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले छुट्टै गणना र अध्ययन नभएको बताए।संरक्षण अधिकृत वाग्लेका अनुसार हुँडार चुरे फेँदीको भावर क्षेत्रमा पाइने गरको बताए।
बाँके, बर्दिया र शुक्ला कम्पलेक्समा पछिल्लो समय नियमित रूपमा देखा परिरहेको उनले बताए। काठे भालु पनि तराईमा देखिने गरेको छ।भारतको दुधवा राष्ट्रिय निकुञ्जमा काठे भालुको संख्या बढी मात्रामा छ। सोही क्षेत्रबाट यहाँ पनि बढ्न सक्ने अनुमान गरिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा हाइना (हुँडार) र काठे भालु देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले बताए। उनका अनुसार त्यसपछि बीचमा भने नदेखिएको उनको भनाइ छ। सन् २०२३ पनि भने फेरि नियमित रूपमा देखिन थालेको उनले बताए।
गत वर्ष नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको ब्रह्मदेव कोरिडोरमा बाघ गणनाका लागि राखिएको क्यामेरामा पनि हाइना देखिएको थियो।उक्त क्षेत्रमा पनि कति हाइना छन् भन्ने विषयमा भने छुट्टै अध्ययन भएको छैन।
शुक्लामा प्रजातिगत विविधता बढ्दै गएको छ, यो यहाका लागि राम्रो भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख जोशीले बताए।
सबै प्रजातिको आ–आफ्नो महत्त्व छ। ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा गत वर्ष गरिएको गणनाअनुसार ४३ वयस्क बाघ रहेका छन्।क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनामा २१ भाले र १९ पोथी तथा ३ वटा विश्लेषणका आधारमा गरी ४३ वयस्क बाघ भेटिएका हुन्।
बाघको घनत्व बढी भएको निकुञ्जका रूपमा पनि शुक्लाफाँटा चिनिने गरेको छ।निकुञ्जको विशाल घाँसे मैदानमा देखिने बाह्रसिङ्गाको झुन्ड यहाँको प्रमुख विशेषता रहेको छ। ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदानमा हजारौंको संख्यामा बाह्रसिङ्गाको बथान देख्न पाइने गरेको छ। २०२३ मा गरिएको गणना अनुसार निकुञ्जमा २३ सय बढी बाह्रसिङ्गा रहेका छन्।